पत्रकारको हकहितका लागि सक्रिय भएर लाग्छु : उपाध्यक्ष अधिकारी
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बाला अधिकारीले पत्रकारको हकहितका लागि आफू सक्रिय भएर लाग्ने बताएकी छन् । पत्रकार महासंघ कैलाली शाखाले बिहीबार धनगढीमा गरेको स्वागत कार्यक्रममा बोल्दै उनले आफू पत्रकाकार र पत्रकारिता पेशाको रक्षाका लागि सक्रिय रहेको बताइन् ।
नेपाल प्रेस युनियनकी केन्द्रिय उपाध्यक्षसमेत रहेकी अधिकारीले पछिल्लो समय सत्ताधारी दल तथा प्रशासनबाटै पत्रकार एवम् मिडियामाथि असुरक्षा बढ्दै गइरहेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउनुपर्ने उनले बताइन् । प्रदेश सरकारहरुले पनि अहिले पत्रकारिता क्षेत्रलाई कमजोर बनाउन सञ्चार नीति ल्याइरहेको भन्दै त्यसलाई रोक्न महासंघ लागिरहेको उनले बताइन् ।
पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा महासंघका केन्द्रीय सदस्य भरत शाह, महासंघ कैलाली शाखाका निर्बतमान अध्यक्ष जगत साउँदलगायत पत्रकारहरुको सहभागिता रहेको थियो । स्वागत कार्यक्रम अगाडि नेपाल प्रेस युनियन कैलालीले पनि उपाध्यक्ष अधिकारीको उपस्थितिमा भेटघाट तथा चियापन कार्यक्रम गरिएको थियो ।
सो अवसरमा बोल्दै उपाध्यक्ष अधिकारीले प्रेस युनियन कैयौ वर्षपछि पत्रकार महासंघमा जिल्लादेखि केन्द्रसम्म हाबी भएकोमा खुशी व्यक्त गरिन् । उनले अब युनियन एक भएर अगाडि बढ्न आवश्यक रहेको धारणा राखिन् । सगठनलाई जिल्लादेखि केन्द्रसम्म पनि बलियो बनाएर लैजानुपर्ने उनको भनाइ छ ।
२८ साउन २०७८, बिहीवार २०:५२ बजे प्रकाशित































