सामूहिक भावनाका साथ अघि बढ्छु- कामु प्रधानसेनापति शर्मा
कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले आफू सामुहिका भावनाका साथ अघि बढ्ने बताएका छन्।कमाण्ड सेनापति र पिएसओको भेटपछस जंगी अड्डाका विभागको अनुगमन गर्ने क्रममा कायममुकायम प्रधानसेनापति शर्माले विगतदेखि चलिआएको मूल्य मान्यता र संस्कारकै आधारमा फौजको परिचालन र व्यवस्थापन गर्ने बताए।
‘सामुहिक भावनाका साथ काम गर्नुपर्छ। एक जनाले मात्रै गरेर हुँदैन भन्ने सन्देश छ। विगतदेखि चलिआएको प्रचलित मूल्य मान्यता र संस्कारकै आधारमा नेपाली सेनाको आफ्नो मातहतको फौजको परिचालन र व्यवस्थापन गर्ने भन्ने छ,’ एक सैनिक उच्च अधिकारीले भने, ‘चेन अफ कमाण्डको पूर्ण रूपमा पालन गर्नुपर्छ। सोझै र तदर्थ समिति मार्फत भन्ने भन्दा पनि चेन अफ कमाण्डकै आधारमा चलाउनुपर्छ।’
कोभिड–१९ को तेस्रो लहर आउनसक्ने भन्दै उनले कोभिडबाट आफू मातहतका सबैलाई जोगाउने र नेपाल सरकारले दिएको जिम्मेवारी पूर्ण रूपमा पुरा गर्नुपर्ने बताए।कोभिड १९ को कारण रोकिएका तालिम सञ्चालन हुनुपर्नेमा शर्माले विशेष चासो देखाएका थिए।
‘कोभिड १९ को कारण प्रभावित भएका सामूहिक तालिममा विशेष चासो थियो। सिपाही भनेको आफ्नो भूमिकामा फिट हुनपर्छ र कुनै पनि हालतमा तालिममा सम्झौता गर्नुहुँदैन भन्नेमा उहाँ एकदमै सजक हुनुहुन्छ,’ ती उच्च अधिकारीले भने, ‘सामुहिक तालिम भनेकै पल्टनको ज्यान हो। जवान र कमाण्डरले तालिम गर्नुपर्छ। कुन मापदण्ड अपनाएर हुन्छ त्यसलाई सुधार गर्नुपर्छ।’
२८ साउन २०७८, बिहीवार १८:५३ बजे प्रकाशित































