सुदूरपश्चिममा थप ७७४ संक्रमित थपिए, १६ जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा शनिबार थप ७७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न ४ वटा प्रयोगशालामा ११९९ नमूना पीसीआर र ३०० नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ७७४ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
निर्देशनालयका अनुसार एक हजार १ सय ९९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७१७ जना संक्रमित भेटिएका छन् भने, ३०० जनाको ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ५७ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८४६ नमूना परीक्षण गर्दा ५५५ जना, महाकाली अस्पतालमा १०३ नमूना परीक्षण गर्दा ७२ जना, डडेल्धुरा अस्पतालमा १०४ जनाको नमूना परीक्षण गर्दा ४० जना र जिल्ला अस्पताल बझाङमा १४६ जनाको नमूना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ९४ हजार ७३७ नमूना परीक्षण गर्दा २९ हजार २०८ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म १६ हजार ३ जनाले कोरोना जितेका छन् भने ३३३ जनाको मृत्यु भएको छ।
यस्तै, सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ९ जना, कञ्चनपुरका ४ जना, त्यस्तै बैतडी, बझाङ र डोटी गरी १÷१ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। यो अवधिमा प्रदेशभर १४९ जना संक्रमित निको भएर घर फर्केका छन्।
१ जेठ २०७८, शनिवार १८:११ बजे प्रकाशित































