आमहड्ताल : देशभर तोडफोड र आगजनी, ९३ जना पक्राउ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले गरेको आमहड्तालमा देशभर विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् ।
सवारीसाधनमाथि आगजनी तथा तोडफोडका घटनाहरु भएका हुन् । काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिए ।
तोडफोड र आगजनीमा सङ्गलग्नमध्ये हालसम्म ९३ जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँबाट ७६, भक्तपुरबाट १ तथा तनहुँबाट १६ जना पक्राउ परेका हुन् ।
२२ माघ २०७७, बिहीवार ११:०९ बजे प्रकाशित































