Alok

१० वर्षमा भित्रियो पौने तीन खर्बको सुन

नेपालमा १० वर्षको अवधिमा २ खर्ब ८२ अर्ब रुपैयाँको सुन आयात भएको छ। नेपाली बजारमा सबैभन्दा महंगो धातुको रुपमा रहेको सुनको आयात धेरै हुन थालेपछि राष्ट्र बैंकले ८ वर्षदेखि कडाइ गरेको छ। तर पनि अर्बौं रुपैयाँको सुन भित्रिँदै आएको छ।

सुनचाँदी व्यवसायीहरुले भने १० वर्ष अवधिमा सुन आयातको कोटा दुई गुणाले मात्रै बढाइनु न्यायसंगत नभएको बताउँदै आएका छन्। सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनार सुनचाँदीको व्यवसायलाई अनावश्यक दुःख दिने काम भएको बताउछन्। महासंघको शुक्रबार सम्पन्न नवौं वार्षिक साधारण सभामा मन्तव्य दिने क्रममा उनले सुनचाँदी व्यवसायलाई दुखः दिने मात्रै काम भएकाले आवश्यक ऐन कानुन ल्याउन सरकारसँग अनुरोध गरे।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितीमा असर गरेको भन्दै आर्थिक वर्ष २०६६ देखि कोटा निर्धारण गर्दै आएको छ। बजारको मागको चक्रलाई विश्लेषण नगरी कोटा मात्रै निर्धारण गर्दा व्यवसायीहरु मर्कामा परेको अध्यक्ष सुनारको भनाइ छ। उनले भने, ‘सिजनमा दैनिक ४० किलोसम्म सुन खपत हुने गरेको छ। तर बैंकहरुले २० किलोमात्रै आयात गर्ने गरेका छन्।’

मागको चक्र अनुसार बैंकहरुले आयात गर्ने सुनको परिणामलाई पनि संसोधन गर्न उनले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरे। उनले भने, ‘बिक्ने बेलामा बैंकले सुन आयात नगर्ने, नबिक्ने वेलामा सुन आयात गरेर व्यवसायीले खरिद नगरेको भन्दै आरोप लगाइने गरिएको छ।’ बैंकहरुका कारण व्यवसायीहरुलाई बदनाम गराउन खोजेको उनले आरोप लगाए।

सुन आयातमा कोटा प्रणाली कायम रहेसम्म सुनको आपूर्ति सीमित हुने भएकोले यसको पहुँच सुन सिफारिस गर्ने तीन वटा महासंघका सदस्यबीच मात्रै हुने भएकाले बजारको वास्तविक मागलाई सम्बोधन गर्न वैकल्पिक सुन आपूर्तिको व्यवस्था गर्न आवश्यक रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेशरत्न शाक्य बताउछन्।

सुनचाँदीमा अत्याधिक आयात भई शोधानान्तर बचतमा दबाब बढेको भन्दै २०६६ मा सरकारले वाणिज्य बैंकहरुबाट मात्रै कोटा प्रणालीअन्तर्गत आयात गर्ने व्यवस्था गरेको थियो। सुरुवाती वर्षमा प्रतिदिन १५ किलोको कोटा निर्धारण गरिएको थियो। २०७४ सम्म प्रतिदिन २० केजी आयात गर्ने गरि संसोधन गरिएको थियो। कोरोनाको विश्वव्यापी प्रभाव बढ्न थालेसँगै नेपाल राष्ट्र बैंकले २०७६ चैतदेखि २० किलोको कोटाबाट १० किलोमा झारेको छ। तर विश्व बजारमा सुनको भाउ अत्याधिक बढ्दा नेपाली बजारमा माग छैन।

यसरी कोटा निर्धारण गर्दा माग अनुसार सुन नपाइने भएकाले कालोबजारी मौलाउने गरेको व्यवसायीहरु बताउछन्। ठूला व्यवसायीले अफ सिजनमा पनि किनेर मौज्दात गर्न सक्ने तर साना व्यवसायीले मौज्दात गर्न नसक्ने भएकाले कालोबजारी मौलाउने गरेको उपाध्यक्ष शाक्यको विश्लेषण छ। प्रायः बैंकहरुले सुनको कारोबार गर्दा एक किलोभन्दा माथिको मात्रै कारोबार गर्ने भएकाले साना व्यवसायीले समस्या भोग्दै आएका छन्। अर्कोतर्फ बैंकबाट सुन आयात गर्दा झण्झटिलो कागजी प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ। सुनचाँदी व्यवसायको कच्चा पदार्थको रुपमा रहेको सुनको आयातमा सरकारले आवश्यक ऐन नियम नै बनाएर नियमन गर्नु पर्ने अध्यक्ष सुनारको तर्क छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दा नेपाली बजार भने सुनसान भएको विश्लेषक तेजरत्न शाक्य बताउछन्। विवाहको सिजनमा समेत विगतका वर्षमा जस्तो यस वर्ष कारोबार हुन नसकेको शाक्यले बताए। यसले गर्दा व्यवसाय सञ्चालनमै चिन्ता थपिएको उनी बताउछन्। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको छ। अमेरिकाको संघीय रिजर्भ बैंकले व्याजदर घटाएर ०।२५ प्रतिशत बनाएकाले गर्दा लगानीकर्ताको प्रतिफल घट्न गयो। यसबाट लगानीकर्ताको ध्यान सुन बजारमा गएको हो।

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनको भाउ थप बढिरहेको छ। अर्कोतर्फ सुनको कारखाना चल्न नसक्दा उत्पादन घटिरहेको छ। यसले बजारमा आवस्यक आपूर्ति धान्न सकिरहेको छैन। एकाएक ८० हजार रुपैयाँको सुन एक लाख पुग्दा उपभोक्ता सबैभन्दा मारमा परेका छन्। अर्कोतर्फ एक लाखभन्दा माथिको सुन ९० हजारको हाराहारीमा झर्दा व्यवसायीहरु मर्कामा पर्ने गरेका छन्। सुनको मूल्य उच्च अंकले बढ्दा व्यवसायीको किन्न सक्ने क्षमता घटेकाले नेपालमा सुन चाँदी व्यवसाय नै धरापमा परेको शाक्य बताउछन्। साभार : नेपाल लाइभ


२५ पुस २०७७, शनिवार १२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु