आमाले अर्को बिहे गरिन्, बुवालाई दैवले लियो
तस्बीर : पत्रकार प्रेम विकको फेसबुक वालबाट
बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय लालबहादुर बिक शुक्रवार बिहान घरमै मृत अबस्थामा फेला परे । बेलुका मदिरा सेवन गरेर घर आएका उनी घरको भुइतलामा सुतेका थिए । तर बिहान भने उनी मृत अवस्थामा फेला परे ।
श्रीमतीले तीन वर्ष पहिला दुई छोराछोरी लिएर अर्को बिहे गरेकी लालबहादुरका आठ वर्षका नाबालक छोरा सम्राट र ७० वर्ष आसपासका बुवा मात्र छन् । साहाराको रुपमा रहेका बुवाको मृत्युपछि सम्राट बिच्चली परेका छन् ।
बुवाको मृत्युमा मलामी गएका जेठो छोरा सम्राट जब बुवा चितामा जलिरहेका थिए त्यसैगरि उनी पनि टोलाइरहे । जसरी चित्ता दनदनी जलिरहेको थियो, त्यसरी उनको मन पनि जलिरहेको थियो ।
अब सम्राटको साहारा ७० वर्षीय हजुर बुवामात्रै छन् । न आमा छन्, न बुवा । बुवाको साहारा रहेका सम्राट बुवालाई दागबत्ति दिएर अन्तिम बिदाई गर्दा मलामी सबै भाबुक बनेका थिए ।
सम्राटकी आमा थुमा बिक दुई वर्ष पहिला चार वर्षकी छोरी गायत्री र तीन वर्षका कृतनसँगै लिएर अर्को बिहे गरेर गइन् । स्थानीयका अनुसार उनी बडिमालिका नगरपालिका कोर्धका एकजना युवासँग बिहे गरेर अहिले भारतको सिम्लेपहाडमा बस्ने गरेको बताइएको छ।
४ पुस २०७७, शनिवार १५:४० बजे प्रकाशित













