सुदूरपश्चिममा फेरि बढे संक्रमित, अछाममा धेरै
मंसिर महिनामा विहेबारीलगायतका भिडभाडका कार्यक्रम हुन थालेपछि फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । पछिल्लो समयमा परीक्षणका दायरा घटेसंगै संक्रमितको संख्या कम देखिएको अवस्थामा बुधबार भने धेरै जनामा संक्रमण देखिएको छ ।
बुधबार सुदूरपश्चिममा एक सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । गएको एक महिनामा सबैभन्दा बढी संक्रमित देखिएको यही मंसिर १६ गते एक सय ४३ जनामा संक्रमण देखिएको थियो भने त्यसपछि बुधबार धेरै जनामा संक्रमण देखिएको थियो । यो एक महिनाको अवधिमा अन्य दिन ९८ जना भन्दा बढी संक्रमित देखा परेका थिएनन् ।
सामाजिक विकास मन्त्रालयकाअनुसार प्रदेशमा पछिल्लो समय सबैभन्दा बढी अछाममा संक्रमण दर बढ्दोक्रममा छ । बुधबार देखिएका एक सय २४ जनामध्ये सबैभन्दा बढी अछाममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसपछि कैलालीमा ४१ जनामा कोरोना देखिएको छ । त्यसपछि क्रमशः डडेल्धुरामा २२, कञ्चनपुरमा नौं, बैतडीमा पाँच र बाजुरमा तीन जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५१ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा २२ जना, बैतडी अस्पतालको प्रयोगशालामा पाँच जना र अछामको कमलबजारको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता कार्कीले जानकारी दिए ।
यससंगै सुदूरपश्चिममा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई हजार दुई सय ८१ पुगेको छ । बुधबार प्रदेशभर नौं जना डिस्चार्ज भएका छन् । जसमा बैतडीबाट नौं जना, कञ्चनपुर र कैलालीबाट दुई÷दुई जना डिस्चार्ज भएका छन् ।
यससंगै सुदूरपश्चिममा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार नौ सय उनान्सय पुगेको छ । डिस्चार्ज हुनेको संख्या नौं हजार छ सय ७६ पुगेको छ भने हालसम्म ४२ जनाको ज्यान गइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर छ हजार २८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ४४ हजार चार सय ३३ पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ३० हजार पाँच सय ३७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२ हजार दुई सय ४५ रहेको छ ।
२५ मंसिर २०७७, बिहीवार ०९:४९ बजे प्रकाशित













