सवारी दुर्घटना हुदाँ एक महिनामा २७ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटना हुदाँ एक महिनामा २७ जनाको मृत्यु भएको छ । तिहारको बेला २७ कात्तिकमा बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ खोड्पेमा भएको बस दुर्घटना हुदाँ ९ जनाले मृत्यु भयो । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको बस दुर्घटना भइएको थियो ।

त्यसको ११ दिनपछि बैतडीमै अर्को दुर्घटना भयो, जहाँ ५ जनाले ज्यान गुमाए । मंसिर ९ गते बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका वडा नम्बर १० बुड्डामा दुर्घटना हुँदा भारतबाट पेन्सन बुझेर आउँदै गरेकाहरूको मृत्यु भएको थियो । मंसिर २० गते राति डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म१च ५५० नम्बरको जिप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु भयो ।

अर्को दिन २१ गते राति दार्चुलामा ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । एक महिनामा सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा घटेका ४ ठूला दुर्घटनामा २२ जनाले ज्यान गुमाइसकेका छन् । दसैं–तिहारबीचमै सुदूरपश्चिमका ६ जिल्लामा भएका सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो ४ महिनामा ५३ जनाको मृत्यु भएको छ । कात्तिक महिनामा मात्रै २७ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।  उनले रातिमा दुर्घटना बढेकाले सवारी साधन सञ्चालनमै रोक लगाउने कि भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने लगातार ३ दुर्घटना राति भएका छन्, राति सवारी चलाउन नदिने विषयमा पछि छलफल भइरहेको छ’ ।

सवारी दुर्घटनामा चालकको बढी लापरबाही देखिएको उनी बताउँछन् । मध्यरातमा गाडी चलाउनु लापरबाही हो’ उनले भने ‘चालक बढी तनावमा हुँदा पनि दुर्घटना भएको देखिएको छ ।’ त्यसबाहेक सडकको दुरावस्था, सवारीसाधन चापका कारण पनि दुर्घटना बढिरहेको उनको तर्क छ ।

‘दुर्घटना न्यूनीकरणका लागि चालक र पैदल यात्री पनि सजग हुनुपर्छ’ एसपी गौतम भन्छन् । तीव्र गति, पैदल यात्रुको लापरबाही, यान्त्रिक गडबडी, खराब मौसम र सडकमा छाडिका चौपाया पनि सवारी दुर्घटनाका मुख्य कारक बनिरहेका छन् ।


२४ मंसिर २०७७, बुधवार १२:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु