नेपालमा फाइभजी सेवा सञ्चालनको तयारीमा
नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने आधार तयार पार्नका लागि उपयुक्त फ्रिक्वेन्सी निर्धारण गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री संयोजक रहने राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट ब्यान्ड अनि मूल्य तोक्ने कार्य भएपछि उक्त प्रविधिको विस्तारको तयारी गरिएको हो ।
उपयुक्त मूल्य र ब्यान्डको सिफारिस भने प्राधिकरणले गर्नेछ जसको आधारमा समिति टुङ्गोमा पुग्ने विषयमा काम अघि बढ्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।
नेपालमा प्रविधि तटस्थताको नीति आइसकेको अवस्थामा ७००, ८००, ९००, १८००, २३००, २६०० र ३५०० ब्यान्डमै फाइभजी परीक्षण गर्ने गरी अघि बढेको उनले बताइएको छ।
परीक्षणका लागि हामीले सरकारसँग अनुमति माग्दैछौँ। त्यस अवधिमा जसले परीक्षण गर्छ उसलाई पनि शुल्क नलगाउने र परीक्षणका लागि अनुमतिप्राप्त प्रदायकले पनि ग्राहकबाट फाइभजी सेवा उपभोग गरे बापत थप शुल्क नउठाउने गरी कार्य अघि बढाउने खनालले बताए ।
प्राधिकरणका अनुसार जुन प्रदायकले जुनजुन ब्यान्ड प्रयोग गरिरहेका छन् त्यसमा उनीहरूले परीक्षण गर्न पाउने छन्। प्रविधि तटस्थताका कारण ८००, ९००, १८०० र २१०० ब्यान्डमा स्पेक्ट्रम लिएको नेपाल टेलिकमले जुनसुकै ब्यान्डमा फाइभजी प्रयोगमा ल्याउन सक्ने उनले बताए ।
कुन ब्यान्डमा सञ्चालन गर्दा इन्टरकनेक्सन र विभिन्न उपकरणमा सहज रूपमा प्रविधि प्रयोग गर्न सकिन्छ भन्ने मात्रै प्रश्न हो, उनले भने। तर कुन ब्यान्डमा चलाउने भन्ने कुराभन्दा महत्त्वपूर्ण यो प्रविधिको लागत र त्यसका आधारमा बजार दीर्घकालीन रूपमा टिक्न सक्ने विषय महत्त्वपूर्ण रहेको भनाइ पाइन्छ।
फोरजीमा अर्बौँ रुपैयाँ लगानी भइसकेको अवस्थामा प्रतिफल पनि हेर्नुपर्ने खनाल बताउँछन्।विश्वका कैयौँ देशमा फाइभजी आइनसकेको अवस्थामा नेपालमा फाइभजी नेटवर्क प्रयोगमा हतारिनुपर्ने अवस्था भने नरहेको खनालले सङ्केत गरे।
जसको अर्थ हाललाई प्राधिकरणको तयारी फाइभजी नेटवर्क प्रयोगका लागि भन्दा पनि तयारी अवस्थामा मात्रै बस्ने रहेको बुझिन्छ। हाल भइरहेका अनि अब हुने अध्ययनका आधारमा नेपाल फाइभजीमा कहिले जान्छ भन्ने कुरा सार्वजनिक गर्नेछौँ, उनले भने।
फाइभजी नेटवर्क स्थापनाका क्रममा प्रयोग हुने उपकरण बारे जिज्ञासा राख्दा प्राधिकरणले सुरक्षा अनि नागरिकको तथ्याङ्कबारे आफूहरू सचेत रहेको बताएको छ।
सुरक्षा चासो देखाउँदै नेपालमा पनि उल्लेख्य बजार रहेको चिनियाँ प्रविधि कम्पनी ह्वावेईका फाइभजी उपकरण प्रयोग माथि पश्चिमा मुलुकहरूमा रोक लगाइएको छ।
खनाल भन्छन्, सुरक्षामा र नागरिकको तथ्याङ्कमा हामी सचेत छौँ र यसमा हाम्रो चासो पनि छ। तर अरूले आक्षेप लगाए भन्दैमा हामी पनि आक्षेप लगाउने पक्षमा भने छैनौँ ।
ूसुरक्षाका मापदण्ड पुरा हुनुपर्यो। हाम्रो चासो त्यो हो। हाम्रो तथ्याई नेपालभित्रै हुनुपर्यो। नेपालीहरूको पहुँचमा हुनुपर्यो र यसको अनधिकृत प्रयोग हुनु भएन । थ्रीजी, फोरजी र फाइभजी इन्टरनेटको गतिसँग सम्बन्धित रहेको खनालको भनाइ छ।
नयाँ प्रविधिको प्रयोग सुरु भएपछि मोबाइल इन्टरनेट प्रयोगकर्ताहरूले हाल उपलब्ध टुजी, थ्रीजी वा फोरजीभन्दा सजिलो तरिकाले डेटा चलाउन पाउने छन् । मोबाइल इन्टरनेटको गति र गुणस्तर तुलनात्मक रूपमा राम्रो हुने अधिकारीहरू बताउँछन् ।
यस बाहेक नेपालमा फाइभजी नेटवर्क प्रयोग गर्न सकिने उपकरणहरूको अवस्था बारे पनि प्राधिकरणले अध्ययन गरिरहेको जनाएको छ। बजारमा उपलब्ध सबै फोन अहिले पनि फोरजीमैत्री छैनन्, खनालले भने। नेपालमा हाल करिब ८० लाख सर्वसाधारणहरू फोरजी नेटवर्कमा जोडिएको प्राधिकरणका अध्यक्षले जानकारी गराए ।
२१ मंसिर २०७७, आइतवार ११:१० बजे प्रकाशित































