punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा रहेको एसियाकै पहिलो सामुदायिक उद्योग धरापमा

Chaupati
safha napa

दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तर्राष्ट्रिय संस्था ‘फरेस्ट स्टेवार्डसिप काउन्सिलबाट प्रमाणित एसियाकै पहिलो सामुदायिक उद्योग धरापमा परेको छ । बझाङको जयपृथ्वी नगरपालिकामा रहेको मालिका हाते कागज उद्योग व्यवस्थापनको लापरबाहीका कारण दुई वर्षदेखि बन्द छ ।

उद्योग बन्द भएपछि यहाँका संरचना र उपकरण अलपत्र छन् । उद्योग भवन वरिपरि झार पलाएको छ । उद्योग भवनका काठ पनि स्थानीयले चोरेर लगेका कारण भत्किने अवस्थामा पुगेको छ । हाते कागज बनाउँदा पानी जम्मा गर्ने पोखरी भत्किएका छन् । कागज बनाउने काठका फ्रेम पनि स्थानीयले दाउरा बनाउन प्रयोग गरेका छन् । लाखौं रुपैयाँ मूल्य पर्ने विटर कागज बनाउन प्रयोग गरिने लोक्ता फिट्ने मेसिन खिया लागेका छन् । मेसिनका महत्त्वपूर्ण पार्ट चोरी भएको स्थानीयले बताए ।

उद्योग भवनमा रहेका खानेपानीका पाइप, लोक्ता पकाउने ड्रम, कागज बनाउँदा प्रयोग गरिने कास्टिक सोडा, नुरीलगायत रसायन समेत चोरी भएका छन् । कुनै बेला स्थानीयको रोजगारीको केन्द्रका रूपमा रहेको हाते कागज उद्योगको घेराबार भत्किएर अहिले गौचरनमा परिणत भएको छ । उद्योग बन्द हुँदा स्थानीय समुदाय र विभिन्न दातृ संस्थाको झन्डै एक करोड रुपैयाँ बराबरको लगानी खेर जाने भएको छ ।

२०५६ सालमा साबिक कैलाश गाविसका स्थानीय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एन्साबको पहलमा उद्योग स्थापना भएको हो । कैलाशमा रहेको विनायक पिमिडाँडा सामुदायिक वनमा आबद्ध २ सय ५० परिवारको सेयर रहेको उद्योगलाई एन्साबले त्यतिबेला ५ लाख रुपैयाँ बराबरका उपकरण र प्रविधिमा अनुदान सहयोग गरेको थियो । त्यसयता उद्योग सञ्चालन, प्राविधिक क्षमता विकास, बजार व्यवस्थापन, पूर्वाधार निर्माण र नवीनतम प्रविधिका उपकरण खरिद गर्न विभिन्न संघसंस्थाले एक करोड बराबरको सहयोग गरिसकेका छन् ।

उद्योग खुलेपछि जिल्लाको दुर्गम तथा आर्थिक हिसाबले समेत पिछडिएको पिमिगाउँका स्थानीयलाई उद्योगले ठूलो आर्थिक टेवा दिएको थियो । दिगो तरिकाले व्यवस्थापन गरेको वन पैदावार प्रयोग गरी सञ्चालित उद्योगलाई २०६४ सालमा एसियाकै पहिलो सामुदायिक उद्योगका रूपमा ‘फरेस्ट स्टेवार्डसिप काउन्सिल प्रमाणीकरण गरेपछि यसको चर्चा चुलिएको थियो ।

सफल सामुदायिक उद्योगका रूपमा चर्चा पाएको यो उद्योग हेर्न र सिक्न जिल्ला भित्र मात्रै नभई हुम्ला, मुगु, जुम्ला, डोल्पा र दोलखाका उद्योगी र जनप्रतिनिधि यहाँ पुगेका थिए । उद्योग सफलताको प्रचार गर्न नेपाल, अमेरिका लगायत देशबाट पत्रकार एवं व्यापारीले पनि पटक पटक भ्रमण गरेका थिए । प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा ३ सयभन्दा बढीलाई रोजगारी दिइरहेको कागज उद्योग बन्द भएपछि यहाँ भएको लगानी मात्रै खेर नगएर रोजगारी पनि खोसिएको स्थानीय बताउँछन् ।

उद्योग सञ्चालन भएदेखि हालसम्म एन्साबले विभिन्न शीर्षकमा ५० लाख, जडीबुटी व्यवस्थापनमा काम गर्ने अमेरिकी कम्पनी अवेदाले १० लाख, नेपालकै जडीबुटीको कारोबार गर्ने कम्पनी हिमालयन बायोट्रेड लिमिटेडले ५ लाख, बहुसरोकारवाला वन कार्यक्रमले १३ लाख र स्थानीयको श्रमदान गरी १ करोडभन्दा बढी रकम उद्योगमा लगानी भइसकेको छ तर पनि व्यवस्थापनको लापरबाहीले उद्योग धराशायी भएको उद्योगको स्थापनाकालमा कर्मचारीका रूपमा काम गरेका स्थानीय गोविन्द कामीले बताए ।

‘उद्योगलाई आएको अनुदानमा आँखा गाड्ने, उत्पादनको हिसाब किताब स्पष्ट नगर्ने र समुदायभन्दा पनि सीमित व्यक्तिले मनोमानी फाइदा लिने प्रवृत्तिका कारण उद्योगको यो हालत भएको हो,’ उनले भने । उद्योग सञ्चालनमा रहेका बेला १० जनाले उद्योगमा प्रत्यक्ष रोजगारी पाएको उद्योगका अर्का संस्थापक कर्मचारी विजय सिंहले बताए । लोक्ता तथा कागज ढुवानी गर्ने, दाउरा बिक्री गर्नेलगायत कामबाट यहाँका ३ सयभन्दा बढी स्थानीयले आयआर्जन गर्ने गरेको उनको भनाइ छ । उनले उद्योग बन्द हुँदा सिंगै गाउँको आयआर्जनको मुख्य बाटो बन्द भएको बताए ।

यहाँ उत्पादित नेपाली हाते कागज जापान, कोरिया, जर्मनीलगायत तेस्रो मुलकमा निर्यात हुने गरेको थियो । कागज बिक्रीबाट भएको नाफा सेयर सदस्य घरधुरीलाई प्रत्येक वर्ष वितरण गर्ने नियम भए पनि एकपटक मात्रै त्यसो गरिएको स्थानीयको भनाइ छ । ‘सञ्चालन भएको २ वर्षपछि एकपटक सेयरका आधारमा प्रतिपरिवार १ हजारदेखि १० हजारसम्म रकम बाँडेका हुन्,’ एक जना सेयर सदस्य ध्वजबहादुर सिंहले भने, ‘त्यसपछि जसले जिम्मा पाए, उनैले खाए । समुदायलाई एक सुको दिएनन् । अहिले त उद्योगै बाँझो भइसक्यो ।’

मालिका हाते कागज उद्योगका प्रबन्ध सञ्चालक गगनबहादुर सिंहले पनि व्यवस्थापनले ध्यान दिन नसकेका कारण उद्योग धराशायी भएको स्विकारे । ‘म वडाध्यक्षमा चुनिएँ, त्यता ध्यान दिन पाइनँ,’ उनले भने, ‘जिम्मा दिएका साथीहरूले इमानदारीपूर्वक काम गरेनन् । त्यसैले यस्तो भयो ।’ कान्तिपुरबाट सभार

 


६ मंसिर २०७७, शनिवार १६:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु