क्यानले सच्यायो क्रिकेट खेलाडीको ग्रेडिङ, दुई खेलाडी थप, दुई बढुवा

नेपाल क्रिकेट संघले यसअघि सार्वजनिक गरेको क्रिकेट खेलाडीको ग्रेडिङ सच्याएको छ। जसअनुसार अब पुरुष क्रिकेट टोलीका २० खेलाडी सूचीमा परेका छन्। सच्याइएको सूचीमा दुई खेलाडी थप गरिएको छ भने दुई खेलाडीको बढुवा गरिएको छ।

यसअघि लगातार राष्ट्रिय टोलीबाट खेलिरहेका ललितनारायण राजवंशी ग्रेडिङमा नपरेपछि व्यापक आलोचना भएको थियो। उनलाई बी ग्रेडमा राखिएको छ।

त्यसैगरी सन्दीप जोरालाई सी ग्रेडमा राखिएको छ। सोमपाल कामीलाई बीबाट एमा तथा अबिनास बोहरालाई सीबाट बीमा बढुवा गरिएको छ। ग्रेड एका खेलाडीले मासिक रु।५० हजार, ग्रेड बीले मासिक ४० हजार र ग्रेड सीका खेलाडीले मासिक रु।३० हजार तलब पाउँछन्।

महिला क्रिकेटरतर्फ सरस्वती चौधरी ग्रेड बीमा, ममता चौधरी र सुमन खतिवडालाई ग्रेड सीमा राख्ने निर्णय गरिएको छ। कोरोना महामारीलाई मध्यनजर गर्दै हाललाई खेलाडीसँग २०२० जनवारीदेखि ६ महिनाको लागि सम्झौता गर्ने निर्णय गरिएको छ।

यसअघि चितवनमा गत असोज ६ गते बसेको बोर्ड बैठकले १९ जना महिला र १८ जना पुरुष खेलाडीलाई तीन ग्रेडमा वर्गीकरण गर्दै मासिक तलब दिने निर्णय गरेको थियो। तर, उक्त निर्णय विवादित बनेपछि खेलाडी ग्रेडिङ गर्न बनेको समितिलाई पुनरावलोकन गर्न क्यानले आग्रह गरेको थियो।


२३ कात्तिक २०७७, आइतवार ०८:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु