भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको गार्ड अफ अनर
नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोजकुमार नरवणेलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ।
नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार काठमाडौं आइपुगेका हुन्।
नरवणेले आजै बसन्तपुर गएर जीवित देवी कुमारीको दर्शन गरेका छन् । यसैक्रममा बिहान पशुपतिनाथको बाहिरबाटै दर्शन समेत गरे। उनी शुक्रबार स्वदेश फर्किने छन् ।
सेनाध्यक्ष नरवणेले जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोपे । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता सुरु भएको छ ।
यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरे । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै दिउँसो सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यतालिका छ ।
२० कात्तिक २०७७, बिहीवार १२:३९ बजे प्रकाशित































