पैसा नतिरेको भन्दै अस्पतालले दिएन तीन दिनदेखि संक्रमितको शव
पैसा तिर्न बाँकी रहेको भन्दै विराट मेडिकल कलेजले कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरुषको शव आफन्तलाई दिएको छैन ।
विराटनगर–३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव अस्पतालमै छ। उपचारको क्रममा उठेको बिल अनुसारको रकम तिर्न नसक्दा अस्पतालले शव नदिएको आफन्तले बताएका छन् ।
संक्रमित ती पुरुषलाई ६ कात्तिकमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । शनिबार बिहान करिब ८ बजे उनको मृत्यु भएको थियो ।
उनका अनुसार अस्पताल भर्ना गर्दा अस्पतालमा एक लाख रुपैयाँ डिपोजिट गरिएको थियो । घरमा भएको पैसा औषधि खरिदमा सकिएको उनले बताइन् ।
अस्पतालले उपचारमा लागेको खर्चमा केही छुट दिएको छ । अस्पतालले ३ लाख ८४ हजार ९३५ रुपैयाँ बाँकी रहेको र त्यो नबुझाएसम्म शव नदिने बताएको उनले गुनासो गरिन् ।
१७ कात्तिक २०७७, सोमवार १०:११ बजे प्रकाशित































