Hotel Flora Long Ad

असई गोविन्द हत्या : घटनास्थलमा देखिएका थिएनन् नजिकको बस्तीका युवा

कैलालीको सीमावर्ती क्षेत्रमा मोहना नदी बग्छ । वारि नेपालको कैलाली जिल्ला र पारि भारतको खिरी । दुई देशको सीमा मोहना नदीले छुट्याएको छ । खुला सीमाना त्यसैमाथि खासै ठूलो नदी नभएकाले वर्षायामका दुई/तीन महिनाबाहेक सबै महिना वारपार गर्न सकिन्छ । जसले गर्दा चोर तस्करले खुला सीमानाको दुरुपयोग गर्दै आएका छन् ।

खुला सीमाना भएकै कारण करोडौंका सामग्री नेपाल भारत तस्करी भइरहन्छन् । त्यति मात्रै नभई मानव तस्करी पनि हुँदै आएको छ । घर गोठमा बाँधेका गाई, भैँसी, बाख्रादेखि अन्नपात पनि चोरी हुने गरेको छ ।

वर्षौदेखि खुला सीमानाबाट सानादेखि ठूला करोडौंका सामग्री तस्करी हुँदै आइरहेको सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयबासी बताउँछन् । कैलालीको दक्षिणी क्षेत्रको करिब एक सय किलोमिटर भू–भाग भातरसंगको सीमामा पर्छ । नेपाल तर्फबाट सुरक्षा निकायको जनशक्ति अभावले सबै ठाउँमा सुरक्षा निकायको उपस्थिति पनि छैन ।

कोरोना महामारीकाबीच केही ठाउँमा सशस्त्र प्रहरी खटाएपनि चोरी तस्करी भने रोकिएको छैन । यसको पुष्टि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० मा आइतबार भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्याले गर्छ । सीमा क्षेत्रमा गस्तीमा जाँदा एक प्रहरीको हत्या हुनु र एक बेपत्ता हुनुले सीमा क्षेत्रमा सशस्त्र खटाएपनि कडाई नभएको स्थानीय बताउँछन् ।

कमजोर सुरक्षा उपस्थिति र तस्करसंगको साँठगाँठकै कारण सीमा क्षेत्रमा खुलेआम तस्करी हुँदै आएको स्थानीयबासीसमेत रहेका नेपाली काँग्रेसका नेता चन्द्रबहादुर विकको भनाई छ । असई गोविन्द विकको हत्या भएको क्षेत्र मोहना छेउको नेपाली बस्तीमा राना समुदायको बसोबास छ । घटनास्थलबाट करिब एक किलोमिटरको दुरीमा छ राना बस्ती । जुन वडा नम्बर १० मा पर्छ ।

उता मोहना पारि भारततिर पनि राना समुदायकै बस्ती छ । यी दुई देशका राना समुदायबीच विहेबारीलगायत सामाजिक रितिरिवाज सबै मिल्छ । पारि भारततिर सुडा, कजरी, देउडाहीलगायतका थुप्र बस्ती राना समुदायका छन् । नेपाल भन्दा भारतमा राना समुदायको बाक्लो बसोबास छ ।

त्यस क्षेत्रकोे बारेमा जानकार स्थानीयबासी भन्छन्, ‘नेपाली राना र भारतीय रानाबीच इष्टमित्रको साइनो हुनु स्वभाविक हो तर त्यसको गलत फाइदा उठाउँदै केही युवाहरु नै सीमा क्षेत्रमा तस्करीमा संलग्न हुने गरेका छन् ।’ उनीहरुकाअनुसार वारिपारिका केही युवाहरु मालसामान पास गराउने कार्य गर्छन् । उनीहरुको साँठगाँठ प्रहरीसंग पनि हुने भएकाले सहजै तस्करीमा लाग्ने गरेका छन् ।

स्थानीयबासी चन्द्र विककाअनुसार वारिपारि नातेदार हुने भएकाले राना समुदायका तस्करीमा संलग्न हुने युवाहरु नेपालमा गल्ती गरे भारत जाने र भारतमा गल्ती गरे नेपालमा आएर बस्ने गरेका छन् । उनी भन्छन्, ‘वारिपारिका तस्करहरुको मिलेमतो हुँदै आएका कारण राना समुदायबाहेक त्यो क्षेत्रमा बसोबास अन्य समुदायका मानिसलाई बस्नै गाह्रो भइरहेको छ ।’ यद्यपि सामान ओसार पसारमा अन्य समुदायका व्यक्तिहरुमा पनि संलग्न हुने गरेका छन् । तर, उनीहरुको साँठगाँठ पारिका तस्कर गिरोहसंग नदेखिएको स्थानीयको भनाई छ ।

स्थानीय प्रताप विष्ट भन्छन्, ‘पारिबाट आएको सामान वारिका तस्कर र वारिका तस्करले लिएको सामान पारिका तस्करले लैजान्छन् ।’ उनकाअनुसार २०३३/३४ सालमा सीमा क्षेत्रमा रहेको प्रहरी चौकी पनि त्यहाँ सुरक्षित थिएन । २०६५ सालपछि मात्रै जुगेडाको वडा नम्बर १२ मा प्रहरी चौकी स्थापना भएको हो । दुई देशका तस्करीबीचको मिलेमतो र प्रहरीसंगको साँठगाँठकै कारण इमान्दार असई गोविन्द विकले ज्यान गुमाउनुपरेको स्थानीय बुद्धिजिवीको भनाई छ । असई विक तस्करी रोक्न कडाईका साथ लागिरहेका बेला तस्करी गर्न नपाएपछि वारिपारिका तस्करले नै उनलाई मारेको आशंका स्थानीयको छ ।

वडा नम्बर १० का वडाध्यक्ष राजेन्द्र रानाले खुला नाका भएकाले तस्करी हुने गरेको तर, ठूलो तस्करी भने नहुने गरेको बताउँछन् । उनले सीमा नाकाबाट वारिपारिका तस्करले यताको सामान उता पठाउने र उताको सामान यता ल्याउँछन् भन्ने कुरा आफूले बुझेको बताए ।

प्रहरीले पनि तस्करहरुले नै प्रहरीको हत्या गरेको आशंका गरेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार ११ जना र सोमबार थप दुई जना गरि १३ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

घटनास्थलमा थिएनन् नजिकको बस्तीका युवा

प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक भेटिएको मोहना नदी (घटनास्थल)मा नजिकैको बस्तीका युवाहरुको उपस्थिति कम थियो । घटनास्थलमा नजिकको बस्तीका केही महिलाहरु मात्रै देखिएका थिए । घटनास्थलबाट नजिकै राना समुदायको बस्ती छ । प्रहरीले १३ जना पक्राउ गरेको छ, तर को–को पक्राउ परेका हुन् भनेर खुलाएको छैन । प्रहरीले हत्याराको नजिक पनि पुगिसकेको बताएको छ ।


४ कात्तिक २०७७, मंगलवार ०९:२६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु