माछा मार्न गएका चार जना नेपाली भारतीयको नियन्त्रणमा
सीमावर्ती क्षेत्रमा माछा मार्न गएका कन्चनपुरको बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिएका छन् ।
गाउँपालिकाको वडा नम्बर ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन्।
सीमास्तम्भ नम्बर ७८५र२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले नियन्त्रणमा लिई भारततर्फ लगेका छन्।
नियन्त्रणमा लिइएका व्यक्तिहरुसँग भारतीय पक्षले जनही रु २० हजार फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बिओपी० बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।
बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गङ्गादत्त बोगटीको कमाण्डमा गएको सात जनाको टोलीले भारतीय एसएसबीको टाटरगञ्जसँग समन्वय गरिरहेको छ। उनले भने, “भारतीयहरुले नियन्त्रणमा लिएका व्यक्तिहरुबारे खोजबिन गरिरहेका छौँ।”
६ असोज २०७७, मंगलवार १०:४३ बजे प्रकाशित













