धानबालीमा खैरो फड्के किराको प्रकोप, किसान चिन्तित

कञ्चनपुरमा खैरो फड्के किराले धानबालीमा क्षति पुर्याएको छ । जिल्लाको शुक्लाफाँटा, बेदकोट, भीमदत्त र महाकाली नगरपालिकाका किसानले लगाएको धानबालीमा फड्के कीराले व्यापक क्षति पुर्याएको हो ।

फड्के कीराका कारण किसानले लगाएको झण्डै ३० हेक्टरको धानबाली पूरै सखाप भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए । हालसम्म चार वटै नगरपालिकाका फड्के कीराले धानबालीमा नोक्सान पुगेका किसानलाई एक लाख बढीको विषादी वितरण गरिएको उनले बताए।

छोटो अवधिमा पाक्न सक्ने जातका धान काट्न अझै एक साता बाँकी छ । ‘यस्तो अवस्थमा फड्के कीराले अझै धानबालीमा व्यापक नोक्सानी पुर्याउन सक्ने भएकाले किसानलाई विषादी छर्कनका लागि भन्दै आएका छौं,’ उनले भने, ‘धानको गाँजसम्म पुग्ने गरी किसानले विषादी छर्किए कीरा नलागेको धानबालीलाई सम्भावित खतराबाट जोगाउन सकिन्छ ।’

देख्दा भुसुना जस्तै साना हजारौंको सङ्ख्यामा देखा पर्ने कीराले एकै रातमा धेरै क्षेत्रफलमा लगाएको धानबालीमा नोक्सानी पु¥याइएको पाइएको उनले बताए । हिलो पानी जमेको खेतमा मात्रै खैरो फड्के कीराको प्रयोग भएको पाइएको छ । पानीको सतह भन्दा एक फिटमाथि बसेर धानको बोटको रस चुसेर फड्के कीराले खाने भएकाले धान पाक्न नपाउँदै सुक्ने गरेको छ ।

कीरा नियन्त्रणका लागि प्रयोग गरिने विषादी निकै कडा खाले हुने भएकाले गर्भवती र बिरामी भएका व्यक्तिले यसको सम्पर्कमा आउन नहुने कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक जनकबहादुर सिँहले बताए । विषादी छर्किएको धानको पराल र धानसँगै रहेको खेतको घाँस २० दिन पछि मात्रै गाईबस्तुलाई खुवाउनका लागि प्रयोगमा ल्याउन सकिने उनले बताए ।

फड्के कीराको समस्या भएका किसानलाई एजदिरक्दीन, हेक्जाकोनाकोल र इमिडाक्लोप्रिड विषादीलाई धानको फेदमा पर्ने गरी छर्कनका लागि सुझाव दिइएको उनले बताए । धेरै किसानको खेतमा खैरो फड्के कीराको प्रकोप देखिएकाले किसानले सजता अपनाउनुपर्ने उनको भनाइ छ ।

उनका अनुसार फड्के कीराको प्रकोप भएका धानका बिरुवा पूरै सुक्ने र पूरै जल्ने (होपर बर्र्न) हुने गरेका छन् । धानबालीको मुख्य शत्रु जीवका रुपमा रहेको फड्के कीरा धानको पात र बोटको आधारमा बसेर रस चुसेर खाई धानबालीलाई नोक्सानी पु¥याउने गरेको छ । धानको फेदमा पानीको सतहमाथि बस्ने गरेको कीराले धानबालीलाई पूरै सखाप पार्ने गरेको पाइएको छ ।

अनुगमनका क्रममा फड्के कीराले शुक्लाफाँटा नगरपालिका– १२ का किसानको तीन बिघा जग्गामा लगाएको धानबाली पूरै सखाप भएको पाइएको छ । किसानको धानबाली कीराको प्रकोपबाट जोगाउनका लागि तत्काल विषादी खरिद गरी किसानका खेतमा छर्कने व्यवस्था मिलाउने योजना शुक्लाफाँटा नगरपालिकाको छ ।

कीराको प्रकोपबारे किसानलाई जागरुक बनाउनका लागि प्रचारप्रसारको कार्यमा जोड दिनका लागि शुक्लाफाँटा नगरपालिकाले कार्य अगाडि बढाउने निर्णय गरेको नगरपालिका आर्थिक समितिका संयोजक ईश्वर सुनारले बताए ।


५ असोज २०७७, सोमवार १३:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु