गुणस्तर हेरेर मात्रै किन्नुहोस् स्यानिटाइजर, विभागले गर्यो यस्तो अपील

औषधि व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद गर्न अपील गरेको छ । बजारमा मापदण्ड विपरितका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर समेत रहेकाले गुणस्तर हेरेर प्रयोग गर्न अपिल गरेको हो ।

अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर विक्रि वितरण भएको पाइएको विभागको भनाइ छ । विभागका महानिर्देशक नारायण ढकालले कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको एकिन गरेर मात्रै प्रयोग गर्न सबैलाई अपिल गर्नुभयो ।

कोरोना महामारीको जोखिम बढेसँगै बजारमा स्यानिटाइजरको माग बढेको छ । विभागले मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग भएका र कम गुणस्तरका स्यानीटाइजर विक्रि वितरणमा प्रतिवन्ध लगाएको छ ।

गतहप्ता ५ र मंगलबार थप ४ वटा कम्पनीका सरोकारवालाका नाममा उत्पादन र विक्रि वितरण नगर्न सूचना जारी गरिएको महानिर्देशक ढकालले बताउनुभयो । विभागले नेपालमै उत्पादन हुने र विदेशबाट आयात हुने स्यानीटाइजरमा पनि प्रतिवन्ध लगाएको छ ।


३१ भदौ २०७७, बुधवार १८:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु