सीमानामा भारतीयको समूहबाट कुटिएका रामदेवको मृत्यु
सीमा नाकामा भारतीय समूहको कुटाईबाट भाइते भएका नेपाली नागरिकको मृत्यु भएको छ । गत भदौ ६ गते भएकोबाट सप्तरीको डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी रामदेव यादव घाइते भएका थिए ।
६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार राति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले बताए ।
यादवले लगाएको धानबालीमा भैंसी चराउन आएका भारतीय समूहलाई गाली गर्दा यादवमाथि कुटपिट भएको थियो । धानबालीमै सात÷आठ जना भैंसी चराइरहेको देखेर यादव र उनका छोरा ललनले गाली गर्दा भारतीय समूहले लाठी तथा बाँसको भाटाले कुटपिट गरेको स्थानीयको भनाइ छ ।
कुटपिटबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइए पनि यहाँबाट विराटनगर रेफर गरिएको थियो । तर, कुनैपनि अस्पतालले भर्ना गर्न नमानेपछि धरान लगिएको थियो ।
कुटपिटमा संलग्नमध्ये एकजना भारतीयलाई नेपालतर्फ नै भैंसी चराउन आएको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।
२२ भदौ २०७७, सोमवार १६:०२ बजे प्रकाशित































