हरायो डर, मौका छोप्दै कोरोना
समुदायस्तरसम्म संक्रमण फैलिएको आशंका
दिनेश विष्ट
धनगढी, साउन २१ । विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमण बिगत केही दिनअघि नेपालमा ओरालो लागेपनि अहिले फेरी उकालो लागेको छ । सरकारले जारी गरेको लकडाउन खुला पारेसंगै कोरोना संक्रमण दर बढ्दै गएको तथ्यांकले देखाएको छ ।
देशभरीमा सुदूरपश्चिमलाईनै केन्द्रीत गरेको कोरोना फेरी सुदूरपश्चिममा नै तीब्र गतिमा फैलिन थालेको छ । पछिल्लो एक साता यता प्रदेशमा संक्रमण तीब्र बढेको हो । प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या पाँच हजार नजिक पुगिसकेको छ । दिनानुदिन कोरोना संक्रमण फैलिरहँदा भिडभाड र भेला गर्नमा जान्ने बुझ्ने ब्यक्तिनै अगाडि देखिएका छन् ।
दिनानुदिन कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा समुदायस्तरमा समेत संक्रमण फैलिसकेको आशंका गरिएको छ । महामारी बढ्दै जाँदा लापरबाही बढेको भन्दै चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन् । कोरोनाको सुरुवाती अवस्थामा निकै त्रास छाएपनि हाल संक्रमण बढिरहेपनि डरपनि हराउँदै गएको छ ।
यसले गर्दा समुदायस्तरमा कोरोना संक्रमण बढ्न सक्ने सेती प्रादेशिक अस्पतालका कोभिड १९ बिभाग प्रमुख डाक्टर शेरबहादूर कमरले बताउँछन् । कोरोनासंग हेल्चेक्र्याई नगरी सबैले सुरक्षा अपनाए भयावह अवस्था सिर्जना नहुने उनको भनाई छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले भने सुदूरपश्चिममा अहिलेसम्म समुदायस्तरमा कोरोना नफैलिएको दाबी गरेको छ । प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले करिब चार सय जनाको समुदायमा परीक्षण गर्दा कसैमा संक्रमण नदेखिएको दाबी गरे । प्रदेशमा हालसम्म बाहिरबाट आएकाहरु र केही उनीहरुको सम्पर्कमा रहेकाहरुमा संक्रमण देखिएको उनले बताए ।
सबैभन्दा बढी सुदूरपश्चिमकै नागरिक भारतबाट आएकाले प्रदेशमा बढी संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयको दाबी छ । अब कोरोना परीक्षणको दायरालाई बढाएर केही दिनभित्रै समुदायमा ब्यापक परीक्षण हुने स्वास्थ्य निर्देशक अवस्थीले बताए ।
कोरोना संक्रमितहरू बढ्दै जान थालेपछि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्बन्धित पक्षहरुसंग छलफल गर्दै सजग भएर लाग्न निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टले तत्काल नियन्त्रण र रोकथाममा जुट्न निर्देशन दिएका हुन् । भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा नराखी घर पठाउन थाल्दा संक्रमण समुदायमा फैलन सक्ने खतरा बढेको उनले बताए । ‘अहिले पनि भारतबाट आउनेहरू आइरहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा उनीहरूलाई सिधै घर पठाउन उपयुक्त छैन ।’
मुख्यमन्त्री भट्टले बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमै राख्नुपर्ने भन्दै सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । कोरोना संक्रमण ओरालो झरेका बेला संक्रमणबाट मुक्त भइसके भन्दै क्वारेन्टाइननै खाली गराएका स्थानीय तहहरुले अब फेरी क्वारेन्टाइन बनाउनुपर्ने छ ।
संघीय सरकारले कहिले १४ दिनमै घर पठाउने निर्णय त कहिले होम क्वारेन्टाइनमै राख्नुपर्छ भन्ने निर्णयले स्थानीय तह अन्यौलमा छन् । कोरोना भाइरस नियन्त्रणका लागि दीर्घकालीन योजना बनाएर सबै तहका सरकार लाग्नुपर्ने नागरिक समाजको सुझाव छ ।
२१ साउन २०७७, बुधवार १४:५६ बजे प्रकाशित













