कोरोना संक्रमण : नेपालमा खतराको संकेत, सतर्क रहन चिकित्सकको सुझाव
काठमाडौं, साउन १६। नेपालमा कोरोना भाइरस संक्रमण कडा बन्दै गइरहेको छ । आईसीयु र भेन्टिलेटरमा भर्ना गर्नुपर्ने विरामीको संखया बढ्दै गइरहेको छ । समुदायस्तरमा फैलिसकेकाले पनि कोरोना रोकथाम र नियन्त्रण काबु बाहिर जाने स्थिति आउन सक्ने भन्दै चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गर्दै आएका छन् ।
विगतमा भन्दा अहिले कोरोना भाइरसको लक्षणसमेत देखिएकाले स्थिति अकल्पनीय हुन सक्ने स्थिति देखिएको छ । पहिले पहिले भाइरस कमजोर थियो । युवा उमेर समूहका मानिसमा मात्रै देखिने गरेको थियो ।
तर, अहिले संक्रमण दीर्घरोगी र कडा खालका विरामीमा पनि सरेको देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेका अनुसार केही दिनअघिसम्म ९९ दशमलव ७ प्रतिशत संक्रमितमा लक्षण नदेखिएकोमा हाल त्यो अवस्थामा परिवर्तन भइरहेको छ ।
उनका अनुसार यो खतराको संकेत हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठजना, त्रिवि शिक्षण अस्पतालमा एक, पाटन अस्पतालमा दुई गरी उपत्यकामा ११ जना आईसीयूमा छन् । थप एकजना भेन्टिलेटरमा समेत छन् । देशभर २२ जना आईसीयूमा छन् ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनका अनुसार लक्षणयुक्त भाइरस देखिनु खतराको संकेत हो । लकडाउन खुलेसँगै संक्रमितको दर बढेकाले आफैं सचेत हुनुपर्ने उनको सुझाव छ । विगतमा अधिकांश कोरोना संक्रमित आइसोलेसनबाटै उपचार गराएर निको भई घर फर्किंदै आएका थिए ।
१६ साउन २०७७, शुक्रवार ०४:५७ बजे प्रकाशित































