बाहिरबाट आएकाहरुलाई अनिर्वाय क्वारेन्टाइनमा राख्न निर्देशन

धनगढी, साउन ११ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जिल्ला तथा देश बाहिरबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ।

आइतबार निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै बाहिरबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा नपठाई संस्थागत क्वारेन्टाइनमा राख्न भनेको छ।

निर्देशनालयले प्रदेशका केही स्थानीय तहले बाहिरबाट आएकाहरुलाई संस्थागत क्वारेन्टिनमा नराखी सिधै होम क्वारेन्टाइनमा राख्ने गरेको सूचना प्राप्त भएका बताउँदै त्यसो नगर्न आग्रह गरेको छ। होम क्वारेन्टाइनबाट समुदायमा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना रहेको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए।

तसर्थ स्थानीय तहमा भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राखी छैठौं दिनमा सबैको स्वाब संकलन गरेर कोरोना जाँचका लागि धनगढी अथवा डडेल्धुरा प्रयोगशालामा पठाउन निर्देशन दिएको उनले बताए।

यस्तै उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आए अनिवार्य १४ दिन क्वारेन्टाइन अथवा आइसोलेनमा बसाउने र नेगेटिभ आए थप ७ दिन होम क्वारेन्टाइनमा बसाउने व्यवस्था मिलाउन समेत स्वास्थ्य निर्देशनालयले सबै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।


११ साउन २०७७, आइतवार १३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु