आज राती १२ बजेबाट लकडाउन अन्त्य
काठमाडौं, ६ साउन । सरकारले गत चैत ११ गतेबाट जारी भएको लकडाउन आज राती १२ बजे बाट अन्त्य गर्ने निर्णय गरेको छ । आज राती १२ बाट लकडाउन खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।
लकडाउन खुलेता पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए । सरकारले लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, ट्युसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटिपार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्दनै रहने उनले बताए ।
तर विद्यार्थी भर्ना, परीक्षाफल प्रकाशन लगयत भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उनले बताए । सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने उनले बताए ।
स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन लगाएर सरकारले भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको छ । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा भने तोकिएका सीमा विन्दुबाट आउन पाइने तर लुकिछिपी आएको खण्डमा कानून अनुसार कारवाही हुने कुरा उनले बताए ।
६ साउन २०७७, मंगलवार १५:०२ बजे प्रकाशित































