पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष गुरुङको निधन
काठमाडौं, साउन ५ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मे. दिपकबहादुर गुरुङको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा निधन भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
उनले तत्कालिन समयमा सबैभन्दा लामो समय चार वर्ष अध्यक्षको पद सम्हालेको उनी पहिलो अध्यक्ष समेत रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । यद्यपी उनको समयमा भने कुनैपनि राष्ट्रिय खेलकुद प्रतियोगिता भने भएनन् ।
गुरुङ २०५५ सालदेखि २०५९ सालसम्मको अध्यक्षको जिम्मेवारी लिएका थिए । उनकै पालामा पोखरा रंगशालाभित्र अधिग्रहण गरिएको केही जग्गाको मुआब्जा वितरण गरिएको थियो ।
उनीभन्दा अघि तीनले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अधयक्षको जिम्मेवारी सम्हालेका थिए । प्रकाशबहादुर गुरुङले २०५१–२०५२ सालसम्म अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि हितकाजी गुरुङले २०५२–२०५३ सालसम्म अध्यक्ष बने । तेस्रो अध्यक्षको रुपमा फणिन्द्र धितालले २०५३–२०५५ सम्म जिम्मेवारी सम्हालेका हुन् ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष हुँदा चार वर्षे कार्यकाल खाने उनी पहिलो अध्यक्ष समेत हुन् । त्यसपछि दिपकबहादुर कोइरालाले मात्रै चार वर्ष पुरा गरेका थिए । कास्कीको मादी गाउँपालिका ताङतिङ निवासी स्व। मे। गुरुङ नेपाली कांग्रेसबाट राष्ट्रिय सभाको सदस्य समेत बनिसकेका हुन् ।
पोखरा–१२ शितलदेवी घर भएका उनी लामो समय गेसोको अध्यक्ष समेत रहेर संघर्ष गरेका थिए । उनले झण्डै चार कार्यकाल नै गेसोको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनको निधनले पश्चिमाञ्चल तथा कास्की जिल्लाले खेलकुदको अभिभावक गुमाएको जिल्ला खेलकुदका विका समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।
९
५ साउन २०७७, सोमवार ०३:०४ बजे प्रकाशित































