हतियार प्रहार गरेको आरोपमा दुई जना पक्राउ
धनगढी, साउन ३ । धनगढीमा धारिलो हतियार प्रहार गरि दुई जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले धनगढी उपमहानगरपालिका–३, का २२ वर्षीय सन्नी नेपाली र वडा नम्बर २ बस्ने २२ वर्षीय दीपेन्द्र भण्डारीलाई पक्राउ गरेको हो। उनीहरुलाई धनगढी उपमहानगरपालिका–३, बडहराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक विष्टका अनुसार नेपालीको साथबाट एक थान खुकुरी र भण्डारीको साथबाट एक थान तरवार बरामद गरिएको छ।
उनीहरुले शुक्रबार राति धनगढी उपमहानगरपालिका–१३, राजपुरमा दुई जना युवामाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट धनगढी उपमहानगरपालिका १३, कैलाली गाउँका २३ वर्षीय निरज भट्ट र वडा नम्बर ६ का २२ वर्षीय गणेश धामी घाइते छन्।
घटनापछि उनीहरु फरार थिए। घटनामा संलग्न अन्य व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
३ साउन २०७७, शनिवार ०७:५२ बजे प्रकाशित































