punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

समुदायमा पनि कोरोना परीक्षण गरिने, प्रदेश सरकारले गर्यो यस्तो निर्णय

Chaupati
safha napa

धनगढी, असार ३० । सुदूरपश्चिममा अब थप तीनवटा पीसीआर मेसिनबाट कोरोना परीक्षण हुने भएपछि समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ ।

प्रदेशमा पीसीआर मेसिन थप सञ्चालमा आउने निश्चित भएपछि सोमबार मुख्यमन्त्री भट्टको अध्यक्षतामा रहेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायमा स्तरमा कोरोना परीक्षण गरेको हो । प्रदेशमा कोरोनाको अवस्थाको समीक्षा गर्दै पीसीआर मेसिनमार्फत अब समुदायको पनि स्वाब परिक्षण गर्ने निर्णय गरेको छ ।

बैठकले होल्डिङ सेन्टर, क्वारेन्टाइनलाई अनिवार्य गर्दै थप व्यवस्थित पनि बनाउने, सबै स्थानीय तहमा आइसोलेसन कक्ष निर्माण गर्ने, कोरोना नियन्त्रणकालागि चाहिने आवश्यक स्वास्थ्य सामाग्री अभाव हुन नदिने लगायतका निर्णय गरेको छ ।

सुरक्षा अपनाई यातायात उद्योग कलकारखाना तथा विकास निर्माणका कामलाई सुचारु गर्ने निर्णय गरिएको छ । यस्तै बैठकले कोरोना संक्रमणको रोकथामसँगै वर्षातको बेला आइपर्ने प्राकृतिक विपद बाढी पहिरो तथा डुवान जस्ता जोखिम न्युनिकरणका लागि पनि विभिन्न निर्णय गरिएको छ ।

जसमा विपद जोखिमबारे समुदायलाई सजकता अपनाउन सबै जिल्ला प्राकृतिक प्रकोप व्यवस्थापन समितिलाई तयारी अवस्थामा राख्ने, विपद आइपरे उद्दार, उपचार र राहत छिटो छरितो बनाउन संघीय र स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले तदारुकता देखाउने निर्णय गरेको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका प्रमुख गुणराज अवस्थीले अबको केही दिनमा थप तीन वटा पीसीआर मेसिन कैलाली, डोटी र बैतडीबाट सञ्चालनमा आउने र कोरोना परीक्षण सुरु गरिने बताए । उनकाअनुसार अहिले मेसिन जडानको काम भइरहेको छ । ‘तीनवटा ठाउँमा मेसिन जडानसंगै कोठाको तयारी हुँदैछ, त्यो काम एक हप्ता भित्रै हुन्छ,’ उनले भने, ‘जुन अस्पतालले जति छिटो जडान गरेर तयार गरिसक्यो त्यतिनै छिटो परीक्षणको काम सुरु हुन्छ ।’

थप तीनवटा पीसीआर मेसिन सञ्चालनमा आएपछि सुदूरपश्चिममा एकैसाथ पाँच वटा मेसिनबाट कोरोना परीक्षण हुनेछ । पछिल्लो पटक सञ्चालनमा आउने पीसीआर मेसिनबाट स्वाव परीक्षणको काम छिटोछरितो हुनेछ । निर्देशक अवस्थीकाअनुसार एक पीसीआर मेसिनले दैनिक एक हजारसम्म स्वावका नमुना परीक्षण गर्न सक्छ । यस हिसावले पछि थपिने तीनवटा मेसिनले मात्रै दैनिक तीन हजार मानिसको स्वावको नमुना परीक्षण हुनेछ ।

अब सञ्चालमा आउने पीसीआर मेसिन अटोमेटिक एक्सट्रेक्सन मेसिन रहेकोले एकै पटक ९६ जनाको स्वाब परीक्षण गर्न सकिने स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका स्वास्थ्य अधिकृत शिद्धराज भट्टले बताए । उनकाअनुसार प्रदेशमा नयाँ सञ्चालनमा आउने पीसीआर मेसिनले यहाँको कोरोना परीक्षणले सहज हुनेछ । उनले अब सञ्चालन आउने पीसीआर मेसिन अटोमेटिक हुने भएकाले अहिलको भन्दा दुई गुण बढी स्वाब परीक्षण गर्न सकिने बताए ।

अहिले धनगढीमा भइरहेको पीसीआर मेसिनबाट दैनिक डेढदेखि दुई सय व्यक्तिको नमुना मात्रै परीक्षण हुने गरेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार दैनिक हजारभन्दा बढी प्रदेशमा स्वाब संकलन भएपनि सबैको परीक्षण हुन सकेको स्थिति छैन ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, प्रदेश प्रहरी प्रमुख, सेना प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगरपालिका नगरप्रमुख, प्रदेश स्वास्थ्य निर्देशकलगायतको सहभागिता रहेको थियो ।


३० असार २०७७, मंगलवार ०६:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु