बझाङको केदारस्युँमा पहिरोले १७ घर पुरिए, ७ जना बेपत्ता
बझाङ, असार २० । बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर परिएका छन् । पहिरोमा परेर सात जना बेपत्ता भएको स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले घटनास्थलमा नेपाली सेनालाई र प्रहरी टोलीलाई पठाइएको जानकारी दिए । खोलामा बाढी आएका कारण सुरक्षाकर्मीलाई पनि त्यसतर्फ पुग्न समस्या भइरहेको छ ।
घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ ।
केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीकाअनुसार सिंगो वस्ती नै पहिरोको चपेटामा परेको छ । त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ ।
२० असार २०७७, शनिवार ०२:०८ बजे प्रकाशित













