कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, अमेरिकामा मात्रै २५ लाख बढी
काठमाडौं, असार १४
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ । हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार भन्दा बढी पुगेको वल्र्डओमिटरले जनाएको छ । यस्तै ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ ।
अहिलेसम्म ५ लाख ६ सयभन्दा बढीको ज्यान गएको हो । एक करोडभन्दा बढी सङ्क्रमितमध्ये ५४ लाख ५१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।
अमेरिकामा २५ लाख ९५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । जसमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ७७ हजारभन्दा बढी निको भएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि १ लाख २५ हजारभन्दा बढी छ ।
फ्लोरिडा, एरिजोना लगायतका राज्यहरुमा कोरोना संक्रमणको दर बढेको छ । थप संक्रमण फैलिन नदिन ती राज्यहरुमा पुनः लकडाउनलगायतका सुरक्षात्मक उपायहरु अपनाउन सुरु गरिएको छ ।
ब्राजिलमा १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजारभन्दा बढीको ज्यान गएको छ । ६ लाख २७ हजारभन्दा बढी सङ्क्रमित रहेको रुसमा ८ हजारभन्दा धेरैको ज्यान गएको छ ।
चौथो स्थानमा रहेको भारतमा ५ लाख २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । जसमध्ये १६ हजारभन्दा बढीको ज्यान गएको छ ।
१४ असार २०७७, आइतवार ०१:२९ बजे प्रकाशित































