कविता : बाहुन-फूल !

बलराम तिमिल्सिना
यो साझा फूलवारी हो भने
किन केही फूलहरूमात्र फुल्छन् ?
किन फुल्दैनन् अरु फूलहरू ?

युगौं अघि फुलेका फूलहरूलाई
उखेलेर फुल्दा फुल्दै
मिलकाए पछि मल-भकारमा
सदियौंदेखि फुलेका छन् केवल –
बाहुन फूल र क्षेत्री फूलहरू !

सिंहदरवारमा होस,
या सित्तल निवासमा
बालुवाटारमा होस ,
या रामशाह पथमा
भद्रकालीमा होस,
या हलचोकमा
किन जताततै फुल्छन्
बाहुन फूल र क्षेत्री फूलहरू ?

किन कहिलै फुल्दैन्-
बालुवाटारमा दमै-फूल
भद्रकालीमा चमार-फूल
हलचोकमा पोडे- फूल किन फुल्दैन ?

आजसम्म किन फुलेन-
सिंह दरवारमा ढाक्रे- फूल
किन बाटोमुनि मात्रै फुल्छ-
युगौंदेखि तामाङ- फूल ?

कालो रङ्गको फूल
किन वर्जित छ फुलवारीमा फुल्न ?
किन पोथी- फूल फुल्नै प्रतिवन्धित छ ?

यो देशका असंख्य आदि-फूलहरू
किन झारपातमा गनिन्छन् ?
किन दुई फूल मात्रै ठुस्स गन्हाउँछन् जहींतहीं ?

यो समयको
एक्काइसौं खुड्किलोबाट
मलाई हेर्न मन छ
बाहुन- फूलजस्तै
क्षेत्री-फूलजस्तै
सवै थरि फूल फुलेको हेर्ने रहर !

यो देशको माली अझै
किन उखेलिरहेछ दमै-फूल
र रोपिरहेछ बाहुन-फूल ?
किन चिमोटिरहेछ पोथी-फूल
र उकेरा लाइरहेछ भाले-फूलमा ?

आऊ फूलहरू हो आऊ !
समान अस्तित्वको एउटा लडाइँ
फूलहरूबाटै सुरु गरौं !


१४ जेठ २०७७, बुधवार ०६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु