प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
काठमाण्डौ । प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । सन् १९३३ को मार्च १ मा भारतको गुवाहाटी टकौबारीको पुलिस रिजर्भमा बुबा प्रेमबहादुर र आमा पवित्राका सन्तानका रूपमा जन्मिएका क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति निधन भएको हो। गुवाहाटीको मरिखालीमा रहेको आफ्नै निवासमा उनको निधन भएको हो ।
असममा जन्मिएका, सिलाङमा बाल्यकाल बिताएका उनको पढाइ बङ्गला, नेपाली र अङ्ग्रेजी माध्यममा भएको थियो । उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गरेका थिए ।
विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका क्षेत्रीको पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ १६ वर्षको उमेरमा प्रकाशित भयो भने पहिलो उपन्यास ‘बसाइँ’ २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशित भएको थियो । ‘बसाइँ’ उपन्यास पूर्वोत्तर भारतको पहिलो उपन्यास हो भने यो नेपाली आख्यान साहित्यको सर्वाधिक पढिएको, चर्चित प्रकाशित उपन्यास हो ।
उनले ‘अतृप्त’ , ‘ब्रह्मपुत्रको छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ लगायतका उपन्यास लेखेका छन् । उनले ‘लीलबहादुर कथाहरू’ र ‘छरिएको बिस्कुन’ लेखेर नेपाली आख्यान साहित्यमा थप योगदान पुर्याएका छन् । उनका धेरै कथा, निबन्ध, एकाङ्कीहरु प्रकाशित छन् ।
सात दशक लामो साहित्ययात्रामा उनले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पाउन सफल भए । साहित्यकार क्षेत्रीले दार्जिलिङको ‘दियालो पुरस्कार’, पश्चिम बङ्गालको ‘भानु’ पुरस्कार प्राप्त गरेका थिए । ‘ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासले साहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल बनेको थियो । क्षेत्री सन् २०२० मा पद्मश्री पुरस्कारले सम्मानित भएका थिए ।
१ चैत २०८१, शुक्रवार ०८:४५ बजे प्रकाशित













