कोरोना नदेखिएपछि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज
विराटनगर,बैशाख २४। कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन्।
पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरे । डिस्चार्ज भए पनि उनीहरुलाई अझै एकसाता विराटनगरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिनेछ ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् । उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गरिएको छ ।
विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत छन् । विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन् । बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन् ।
२४ वैशाख २०७७, बुधवार ०३:५६ बजे प्रकाशित













