कैलालीमा लकडाउन उल्लंघन बढ्दै : प्रशासनद्वारा पास बितरण बन्द

धनगढी,बैशाख २३ । प्रदेश राजधानी धनगढीसहित कैलालीका विभिन्न स्थानमा केही दिनयता लकडाउन उल्लंघन बढेपछि जिल्ला प्रशासन कार्यालयले कडाई गरेको छ । विभिन्न वहान बनाएर मानिसहरु सडकमा आउने क्रम बढेपछि कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले कडाई गरेको जनाएको छ ।

धनगढीमा लकडाउनको व्यापक उल्लङ्घन भएपछि जिल्ला प्रशासन कार्यालय कैलाली वितरण गदै आएको पास पनि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । दैनिक उपभोग्य बस्तु खरिदका लागी केहि दिन बजार खुल्ला गरिएपनि आजदेखि लकडाउनमा कडाई गर्ने र अत्यावश्यक काम बाहेक अन्य समयमा घरभन्दा बाहिर निस्किन नपाउने निर्णय गरिएको बोहराले बताए । लकडाउनलाई वेवास्ता गर्दै मानिस सडकमा पैदल तथा सवारी साधन सहित निस्किन थालेपछि अब कडाई गरिने र अटेर गर्ने लाई कारबार्हि गरिने प्रमुख जिल्ला अधिकारी बोहराको भनाई छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि यतिबेला सरकारले गरेको लकडाउनको सबैले पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी बोहराले बताए । लकडाउनलाई थप कडाई गर्न आवश्यक परे अन्य स्थानीय तहले प्रदान गदै आएको पास समेत बन्द गरिने उनले बताए ।

प्रदेशका ९ वटै जिल्लाका विभिन्न स्थानमा लकडाउनको उल्लङ्घन गर्दै चलाईएका दुई हजार चार सय ९८ वटा सवारी साधन नियन्त्रणमा लिई कारबार्हि गरिएको छ । लकडाउनको उल्लङ्घन गरी चलाईएका मोटरसाईकल, बस, ट्रक, ट्रयाक्टर लगायतका सवारी साधन नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएकाहरु मध्ये अधिकांशलाई सम्झाईबुझाई गरी छोडिएको छ भने केहीलाई प्रचलित कानून अनुसार जरिवाना समेत तिराईएको छ ।
ढुवानी साधनका पास रद्द
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट अत्यावश्यक बस्तु आपूर्ति सहज बनाउन जारी भएका ढुवानी साधनका पास रद्द गरिएका छन् ।

लकडाउनका बेला अत्यावश्यक खाद्यान्न लगायतका बस्तु आपूर्ति गर्न विभिन्न मितिमा अवधि नतोकिएका पासहरु दिइएको थियो । पासको दुरुपयोग भई ढुवानीका साधन प्रयोग गरिएकाले रद्द गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले काम गर्ने अनुमति पाएका आयोजनाहरुले पनि पुनः पास लिन सूचना जारी गरेको छ ।

उद्योग बन्द
उत्पादनमूलक अधिकांश उद्योग बन्द हुँदा सुदूरपश्चिममा खाद्यलगायतको आपूर्ति प्रणाली प्रभावित हुने भएको छ । लकडाउनको समयमा सरकारले उद्योगधन्दा संचालनको पूर्ण अनुमति दिएपनि कैलालीका अधिकांश उद्योग बन्द रहेका छन् ।

कच्चापदार्थको अभाव, बजारिकरणमा समस्या र कामदारको व्यवस्थापन लगायतका समस्या देखापरेपछि उद्योग सञ्चालन गर्न नसकिएको व्यवसायीले बताएका छन् । लकडाउनका कारण पछिल्लो समय कैलालीमा साना ठूला गरी ९५ उद्योगधन्दा बन्द भएका छन् । घरेलू, मझौला, ठुला उद्योग गरी कैलालीमा सय बढी उद्योग रहेपनि अहिले ७÷८ वटा उद्योग मात्रै संचालनमा रहेका छन् । संचालनमा रहेका उद्योगधन्दा पनि कच्चापदार्थ अभाव तथा उत्पादित वस्तु बिक्रेताकहाँ पु¥याउन नसक्दा समस्यामा परेका छन् । सरकारले उद्योगधन्दा सुचारु गर्न भनेपनि अन्य व्यवस्थापनमा सहयोग नगर्दा उद्योग सञ्चालनमा समस्या भएको राजश्री खाद्य उद्योगका संचालक मनोज अग्रवाले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीले भने उद्योगधन्दा संचालनमा कुनै अडचन नल्याईएको दावी गरेको छ । अहिले अत्यावश्यक खाद्यवस्तु उत्पादनका लागि उद्योगहरु खुला रहेकाले बन्द उद्योग सञ्चालनमा ल्याए कुनै समस्या नहुने जिल्ला आपुर्ति व्यवस्थापन समितिका अध्यक्ष तथा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । लकडाउनकै कारण उद्योगधन्दा बन्द रहे खाद्यसामग्री आपुर्तिमा समस्या हुने चिन्ता बढेको छ ।


२३ वैशाख २०७७, मंगलवार १३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु