भारतीय कामदार ल्याउनुपर्ने माग गर्दै मन्त्री भट्टलाई ज्ञापनपत्र
कैलाली उद्योग बाणिज्य संघले भारतीय कामदारलाई नेपाल प्रवेश दिनुपर्ने माग गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार साँझ मन्त्री भट्टको निजि निवास अत्तरियामै पुगेर उद्योग बाणिज्य संघको टोलीले ज्ञापनपत्र बुझाएको हो । मन्त्री भट्टलाई ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले भारतीय कामदार अभावमा नेपालमा निर्माणलगायतका कामहरु प्रभावित बनेको बताए । उनले स्वास्थ्य मापदण्ड अपनाएर भारतीय कामदार भित्रिन दिनुपर्ने बताए ।
कोरोना भाइरसका कारण लकडाउन भएसंगै भारतीय कामदार स्वदेश फर्किएका थिए । अहिले नेपाली कामदार पनि कामका लागि दैनिक भारत गइरहेको अवस्था छ । दशैँ तिहार नजिकिदै गर्दा समेत ब्यवसायमा राम्रो उपलब्धी आउन नसकेको भन्दै कैलाली उद्योग बाणिज्य संघले दक्ष कामदार भित्रिन दिनुपर्ने माग राखेको हो ।
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष कुँवर, बरिष्ठ उपाध्यक्ष पुस्कर ओझा, सचिव शिद्धराज पनेरु, सदस्य मनोज अग्रवाल तथा कार्यकारी निर्देशक गोमा अधिकारी सहितको टोलीले मन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएको हो ।
२१ असोज २०७७, बुधवार १५:५३ बजे प्रकाशित































