सुदूरपश्चिममा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिममा आज थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २६ जना कैलालीका छन् । प्रदेशका विभिन्न पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८ सय १३ जनाको कोरोना परीक्षण गरिएको थियो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा दुई सय ३३ जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ। कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जना, जोशीपुर गाउँपालिकाका ६ जना र घोडाघोडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको उनले बताए।
उनकाअनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का ७ जना र शुक्लाफाटा नगरपालिका–९ का एक जनामा कारोना पुष्टि छ । डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। ८३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अछामको रामारोशन गाउँपालिकाका ७ पुरुष र मंगलसेन नगरपालिकाका २ महिलामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए।
जिल्ला अस्पताल बझाङको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार जिल्लाको छविसपाथिभेरा गाउँपालिकाका पाँच जना, बुगल नगरपालिकाका दुई जना, मष्टा गाउँपालिकाका चार जना, दुर्गाथली गाउँपालिकाका तीन जना र केदारस्यू गाउँपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा दुई सय ५३ जनाको कोरोना परीक्षण गरिएको खड्काले जानकारी दिए।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा २४ घण्टामा एक सय ३३ जनाको कोरोना परीक्षण भएकोमा तीन जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालमा एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ।
१२ असोज २०७७, सोमवार १९:०९ बजे प्रकाशित































