जिल्ला अदालत कैलालीले तोक्यो डांका चोरी मुद्दामा समातिएका चारजनाको कैद अबधि १ सय ७० बर्ष
२० बर्ष अघि कैलालीमा डाँका ,चोरी मुद्धामा दोषी ठहर भई फरार रहेका चार जना पक्राउ परेका छन्। जोशीपुर गाउँपालीकाबाट पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत कैलालीले चारै जनाको कैद अवधी १सय ७० बर्ष तोकेको छ ।
२०५७ सालमा विभिन्न मितिमा डाँका चोरी मुद्दामा पक्राउ परि पुर्पक्षकालागि कारागार चलान भएका उनीहरु २०६१।१०।२७ गते कैलाली कारागारबाट भागी फरार सुचिमा थिए ।
पक्राउ पर्नेहरुमा जोशीपुर गाउँपालीका वडा नम्वर ६ बस्ने ४५ बर्षीय रोगही भन्ने क्रमराज थापा, जोशीपुर ३ बस्ने ४९ बर्षका रोहिना भन्ने भगत चौधरी, वडा नम्वर ४ बस्ने ३८ बर्षीय कालु भन्ने गुन सिंह कठरिया, भजनी नगरपालिका वडा नम्वर ६ बस्ने बर्ष ४७ का टिकाराम चौधरी रहेका छन् ।
पक्राउ परेका मध्येका थापा ८ वटा डाँका चोरी मुद्दामा दोषी ठहर भएका थिए। उनलाई जिल्ला अदालत कैलालीले ८७ बर्ष कैद सजाय र ४४ हजार एक सय ५३ रुपैँया जरिवाना तोकेको थियो।
त्यसतै अर्का चौधरी भने एउटा डाँका चोरीमा संलग्न थिए। उनलाई अदालतले ६ बर्ष कैद र चार हजार पाँच सय जरिवानाको सजाय सुनाएको थियो। कठरिया चार वटा डाँका चोरी मुद्दामा दोषी ठहर भएका थिए भने अदालतले ३९ बर्ष कैद र १४ हजार ७० रुपैँया जरिवाना तोकेको थियो।
टिकाराम चौधरी ५ वटा डाँका चोरी मुद्दामा दोषी ठहर भएका थिए भने अदालतले ३८ बर्ष कैद र नौँ हजार चार सय ४० जरिवाना तोकेको थियो।
उनीहरु चारै जनाको जम्मा कैद १ सय ७० बर्ष हुने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुले भरुवा बन्दुक, खुकुरी र लाठ्ठी समेत बोकी स्थानीय व्यक्तीहरुको घरमा घेरा हाली जिन्सी तथा धनमालहरु लुटपाट गरेका थिए ।
१२ भदौ २०७७, शुक्रवार १२:३५ बजे प्रकाशित































