गाउँका महिलाहरुसँग सम्बन्ध राखेको भन्दै हत्या, शव खोलामा फालियो
सुनसरी, भदौ ४ । सुनसरीमा गाउँका युवती र महिलाहरुसंग सम्बन्ध राखेको भन्दै एक युवकको हत्या गरिएको छ । जिल्लाको भोक्राह–७ का २२ वर्षीय गुणराज यादवको हत्या गरिएको खुलेको हो ।
आफ्नै परिवारका दिदी बहिनीहरुको नाम पनि गुणराजसंग जोडिन थालेको भन्दै गाउँकै केही युवाहरुले उनको हत्या गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक (इन्सपेक्टर) सरोज खनालले बताए । उनकाअनुसार साउन २९ गते राति रक्सी खाएपछि साथीसँग छुटिएका गुणराजको घन्सीबारीमा युवकको हत्या गरिएको हो ।
हत्या आरोपमा प्रहरीले दिनेश महतो, पप्पुराम, दीपक यादव, प्रदीप राम र शिव कुमार मेहतालाई पक्राउ गरेको छ । उनीहरुले गुणराजको हत्या गरेको स्वीकार गरेका छन् । उनीहरूलाई कारबाही प्रकृया अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ। अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक सरोज खनालका अनुसार मदिरा सेवनले लट्ठ भएका गुणरासँग त्यतिबेलै बदला लिने सोच बनाएको दिनेशले बयान दिएका छन्।
उनीले सम्झाउँदा नमानेपछि उनीहरूले गुणराजलाई भौतिक कारबाही गर्ने भनेर पहिले नै सोच बनाएको पाइएको इन्सपेक्टर खनालको भनाइ छ। उनका अनुसार घन्सीबारीमा जम्काभेटका क्रममा गुणराजसँग पहिले शिवकुमारले विवाद सुरू गरे। त्यही क्रममा दिनेश र गुणराजबीच हात हालाहालको स्थिति भयो।
‘दिनेशले बारीको कान्ला छेउमा रहेको गोरू गाडाको बाँस निकालेर गुणराजको टाउकोमा प्रहार गरेछन्, गुणराज त्यहीँ लडेछन्,ु इन्स्पेक्टर खनालले भने, ुशिवरामले गोरू गाडा बाँधेको नाइलनको डोरी निकालेर गुणराजको घाँटी दबाएको, पप्पुले गुणराजको अण्डकोषमा पटक पटक प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।’
त्यसरी सबै मिलेर हत्या गरेपछि शव व्यवस्थापन पनि सल्लाहमै मिलेर गरे। सबै मिलेर गुणराजको शव बोरामा हालेर खोलामा बगाइदिए । ‘मृतक युवकको धेरै युवती र महिलासँग राम्रो सम्बन्ध देखिन्छ। उसले सम्बन्ध बनाएका युवतीमध्ये हत्या आरोपीका कोही छोरी, कोही प्रेमिका, कोही बहिनीलगायत पर्छन्’ उनले भने।
४ भदौ २०७७, बिहीवार ०८:५७ बजे प्रकाशित































