निरीक्षणमा गएको संसदीय टोलीनै पुगेन बाढी प्रभावित क्षेत्र

धनगढी, साउन २२ । बाढीबाट अति प्रभावित कैलालीको दक्षिण पूर्वी क्षेत्रका स्थानीय बुधबार दिउँसो आफ्ना समस्या बताउन प्रदेश सभा सदस्यहरुलाई कुरिरहेका थिए । बुधबार सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोलीले कैलालीको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको थियो ।

सोही टोली आउने जानकारी पाएपछि भजनी नगरपालिका वडा नम्बर ८ छछरवाका स्थानीय विरबहादुर चौधरी टोलीलाई मार्ग देखाउन सडकमै कुरिरहेका थिए । प्राकृतिक स्रोत समितिको टोलीमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको पनि सहभागिता रहेको थियो ।

प्राकृतिक स्रोत समितिका टोलीलाई उनले सडकमै रोक्ने प्रयास गरे तर, गाडि नरुकी अघि बढ्यो । सभापति हर्कबहादुर कुँवर नेतृत्वमा रहेको गाडि अलि अघि बढेर रुकेपनि फर्केन । केही पछि थियो नेता रावलको गाडी । उनले स्थानीयको इसारा हेरेपछि रोकेर विरबहादुरको मोटरसाइकल पछाडि आफनो गाडि दोहोर्याए । तर, प्राकृतिक स्रोत समितिको टोली भने अति प्रभावित क्षेत्रमा नपुगि भजनी नगरपालिकाले वडा नम्बर १ स्थित होटल मोनिस्कामा आयोजना गरेको कार्यक्रममा सहभागि भए ।

सोही टोलीमा सहभागि एक प्रदेश सभा सदस्यले भने –‘हामी यहाँ जनताका समस्या बुझ्न आएका हौं तर, टोली भने यस्ता विषयमा गम्भिर नभइ राजनीति गर्न लाग्यो ।’ उनले ती टोलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अति प्रभावित क्षेत्रको समस्या, समाधानको उपायका लागि स्थलगत अनुगमन गर्नुपर्नेमा राजनीतिक भाषण र कार्यकर्तामा व्यस्त भएको आरोप लगाए ।

उनका अनुसार बाढीबाट भजनी नगरपालिकाको वडा नम्बर ८ अति प्रभावित क्षेत्र थियो । वडा नम्बर ८ को छछरवा, जनकपुर, दैलेखी टोल, सोनाफाटालगायतका क्षेत्रमा आठ दिन अघि आएको बाढीले प्रभाव पारेको थियो । सोही बाढीमा परि वडा नम्बर ८ जनकपुरका १० वर्षीय इस्केल चौधरी, ३३ वर्षीय चक्रबहादुर विक र काँडाढिकका ४० वर्षीय इश्वर शाहको मृत्यु भएको थियो ।

सो टोलीले भजनीको कार्यक्रम सकेपछि भजनी नगरपालिका वडा नम्बर ३ को कुसुमघाट क्षेत्रमा कान्द्रा नदीले प्रभाव पारेको बारे स्थलगत निरीक्षण गरेको थियो । ती सदस्यले भने –‘सभापतिलाई पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले अल्झाए ।’ उनले सभापतिलाई भजनी वडा नम्बर ८ मा जाउँ भन्दा सोडारीले कार्यक्रममा दबाब दिएर लगेको बताए ।

यसअघि धनगढीबाट टोली निस्कदा सोडारीले आफनो निर्वाचन क्षेत्रका केही वडाहरुमा टोलीलाई व्यस्त बनाएको थियो । ती सदस्यका अनुसार टोलीको मुख्यतः टीकापुर, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको थियो । टोलीमा भौतिक पूर्वाधार मन्त्रालयमातहातको उर्जा तथा जलस्रोत महाशाखाका विज्ञ टोलीको पनि सहभागिता रहेको थियो ।

समितिका सभापति हर्क कुँवरले वडा नम्बर ८ को स्थलगत निरीक्षण नगरेपनि उनी टीकापुर क्षेत्रको निरीक्षण गर्न नेता रावललाई हुलाकी सडकमा कुरिरहेका थिए । सभापतिसंगै रहेका अन्य प्रदेश सभा सदस्यहरु भने त्यहाँबाट फर्केर घोडाघोडीमा भोजभतेरामा व्यस्त भएको एक सदस्यले जानकारी दिए ।


२२ साउन २०७७, बिहीवार ०३:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु