पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
बुटवल, साउन १६ । गुल्मीको रूरू गाउँपालिका– ५ आरिपाटामा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । शुक्रबार राति ८ बजेतिर खसेको पहिरोले स्थानीय बिना माझीको घर पुरेको हो ।
पहिरोले घर पुर्दा माझीसहित उनका तीन सन्तानको ज्यान गएको छ । डेढ वर्षीयादेखि अन्दाजी ७ वर्षका तीन छोराछोरीको मृत्यु भएको स्थानीय मेघराज गिरीले जानकारी दिए।
मृतकको शव स्थानीयले निकालेका छन् । प्रहरी टोली घटनास्थल गैरहेको छ । पहिरोका कारण अन्य तीन घरका बासिन्दा विस्थापित भएका छन् । सो ठाउँमा माझी परिवारका २० घर रहेको बताइएको छ ।
१६ साउन २०७७, शुक्रवार १६:५० बजे प्रकाशित































