punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अढाइ दशकदेखि पुनःस्थापनाको पर्खाइमा कैलालीका मुक्तकमैया

Chaupati
safha napa

भजनी । कमैया मुक्ति घोषणा भएको २४ वर्ष पुगेको छ । विसं २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको हो । अढाइ दशक बित्नै लागे पनि कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरी पुनःस्थापनाको पर्खाइमा हुनुहुन्छ ।

राज्यले ऋण मिनाहासहित पुनःस्थापना गर्नेगरी कमैया मुक्तिको घोषणा गरे पनि आफूजस्तै सयौँ परिवार आज पनि पुनःस्थापनाको पर्खाइमा रहेको उहाँ बताउनुहुन्छ ।

“राज्यले पुनःस्थापनाको काम अझै गर्न सकेको छैन । आजसम्म कमैयाले आफ्नो क्षमताले एउटा बस्ने घरसम्म बनाउन सकेका छैनन । अरुकै सहारामा बाँच्नुपरेको छ”, चौधरी भन्नुहुन्छ, “पटकपटक आश्वासन पायौँ, सहारा कहिल्यै पाएनौँ ।”

शिवनगरकै रामफल चौधरीलाई बुढ्यौलीले छोइसकेको छ । सरकारले पुनःस्थापनाको ग्यारेन्टी गरेसँगै अरुको घरमा कमैया बसेर जीवन निर्वाह गर्दै आउनुभएका उहाँले २० वर्ष पुनःस्थापनाको आशामा शिविरमा बिताउनुभयो । “पुनःस्थापनाको सम्झौता मात्रै भयो, हामी दशकौँदेखि कष्टकर जीवन बिताउन बाध्य छौँ ।”

शान्ताराम चौधरीको समस्या पनि उस्तै छ । आज पनि उहाँलाई अरुको घरमा काम गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । “हिजो अरुको घरमा काम गर्दा आफ्नो स्वतन्त्रता थिएन, आज स्वतन्त्रता छ, फरक त्यतिमात्र हो ।”

दुई दशक पहिला टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा अतिक्रमण गरेर सयौँ मुक्तकमैया आश्रय लिएर आजसम्म बसोबास गर्दै आएका छन् । सो क्षेत्रमा मुक्तकमैयामात्र नभई सयौँ सुकुम्बासी पनि बसोबास गर्दै आएका छन् । “राज्यले उचित व्यवस्थापन गरेको भए अरुको जग्गामा बस्नुपर्ने बाध्यता हँुदैनथ्यो”, स्थानीय छेदु चौधरीले भन्नुभयो, “जग्गा जमिन नभएका हामी यो जग्गा छाडेर कता जानसक्छौँ ।”

मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका सचिव विमल चौधरीले कैलालीमा अझै चार हजार दुई सय छुट मुक्तकमैयाको पुनःस्थापना गर्ने बाँकी रहेको बताउनुभयो । प्रदेशमा झण्डै १२ हजार मुक्तकमैया परिवार छन् ।

टीकापुरमा मात्रै करिब ६ सय परिवार पुनःस्थापनाको पर्खाइमा छन् । मुक्तकमैया व्यवस्थापन गर्न तीनै तहको सरकारसँग समन्वय र सहकार्य गर्दै आएका सचिव चौधरीले बताउनुभयो ।

“राज्यले घोषणा गरेअनुसार सबै मुक्तकमैयाको व्यवस्थापन यथाशीघ्र हुनुुपर्छ”, उहाँले भन्नुभयो । शैलालीका ११ स्थानीय तहमा र कञ्चनपुरमा ६ स्थानीय तहमा मुक्तकमैया परिवारको बसोबास छ ।

कमैया मुक्तिको घोषणा भएको दिन स्थानीय तहले सार्वजनिक बिदा दिने गरेका छन् । मुक्तकमैया दिवसको अवसर पारेर टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकालगायत स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।


२ साउन २०८१, बुधवार ०८:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु