punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बजेट अभावले हुलाकी सडकको काम प्रभावित

Chaupati
safha napa
भजनी । हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेका सडकमा बजेट अभाव भएको छ ।
कैलालीमा सञ्चालन भइरहेको लम्की–टीकापुर–खक्रौला सडकखण्ड र टीकापुर नगरपालिकाको सत्तीबाट धनगढीसम्म सडकको काम चलिरहेको छ । आयोजनाले पर्याप्त बजेट नहुँदा कामको मूल्याङ्कनका आधारमा निर्माण कम्पनीलाई भुक्तानी गर्न सकेको छैन ।
लम्की–टीकापुर–खक्रौला सडक निर्माण तीन चरणमा सुरु भएकामा पहिलो चरणको काम गत वर्ष सम्पन्न भइसकेको छ । दोस्रो र तेस्रो चरणको काम चालु छ । उता सत्ती–धनगढी सडकको काम चार चरणमा सुरु गरिएकामा त्यहाँ पनि पहिलो चरणको सम्पन्न भइसकेको छ भने दोस्रो चरणको काम सम्पन्न हुने अवस्थामा रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय कैलालीका सूचना अधिकारी बक्र कठायतले बताउनुभयो ।
“यस वर्ष रु २९ करोड बजेट आएको थियो, त्यो सकिएपछि बजेट माग गर्दा रु १० करोड आयो, असारसम्म निर्माण कम्पनीको कामको मूल्याङ्कनका आधारमा रु ३० देखि ३५ करोड भुक्तानी गर्नुपर्ने देखिन्छ”, उहाँ भन्नुहुन्छ, “भएको बजेट सकिएपछि माग गरेको बजेट आएन भने निर्माण कम्पनीलाई भुक्तानी गर्न सकिने स्थिति छैन ।”
उहाँले अहिले पनि निर्माण कम्पनीले पेस गरेको करिब रु २३ करोडको बिल भर्पाइको भुक्तानी बजेट नहुँदा रोकिएको बताउनुभयो । जानकी गाउँपालिकाको पथरैयाबाट टीकापुर नगरपालिकाको अस्नेहरीसम्मको सडक निर्माणको जिम्मा पाएको कृष्ण खड्का जेभीले बजेट सुनिश्चितता नहुँदा काम प्रभावित हुनसक्ने बताएको छ ।
यसै वर्ष सडक कालोपत्र सुरु गरेको निर्माण कम्पनीले दुई लेन सडकको प्रायः काम सकेको छ । केही स्थानमा स्थानीयको अवरोधका कारण काम हुन नसकेको निर्माण कम्पनीका साइड इन्चार्ज केशव डिसीले बताउनुभयो ।
“दुई लेन सडकको काम प्रायः सकिएको छ । बाँकी तीन किलोमिटर चार लेन सडकमा पनि टीकापुर बजार क्षेत्रमा कालोपत्रको काम सुरु गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “बजेटको सुनिश्चितता आयोजनाले गर्न नसक्दा काम बीचमै रोक्नुपर्ने देखिएको छ ।”
काम भइरहेको क्षेत्रमा असार मसान्तसम्म सडक कालोपत्र गर्न सकिने समय भए पनि भएको बजेट सकिँदा र आयोजनाबाट भुक्तानी नहुँदा काम अगाडि बढाउन नसकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी पनि जतिसक्दो छिटो काम सम्पन्न होस् भन्नेमा छौँ, पैसा नहुँदा निर्माण सामग्री कसैले नपत्याउने भएपछि काम अगाडि बढाउन गाह्रो छ ।” रु ४० करोड ९९ लाखमा ठेक्का सम्झौता भएको कृष्ण खड्का जेभीले हालसम्म ७० प्रतिशत काम सम्पन्न गरेको छ । आयोजनाको म्याद आगामी असोजसम्म छ ।
त्यस्तै टीकापुर नगरपालिका अस्नेहरीबाट खक्रौलासम्मको सडक निर्माणको जिम्मा पाएको गाल्वा रायमाझी जगदम्बा जेभीले पनि सडक कालोपत्र सुरु गरेको छ । सो क्षेत्रमा तुलनात्मक रूपमा काम ४० प्रतिशतमात्रै भएको राजमार्ग आयोजना कार्यालयले जानकारी दिएको छ ।
एघार किलोमिटर सडक कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले पुससम्म काम सक्ने सम्झौता रहेको निर्माण कम्पनीका ओभरसियर मनिष भण्डारी बताउनुहुन्छ । कालोपत्रका लागि रु ३६ करोडमा सम्झौता भएको छ । भुक्तानीमा समस्या हुँदा काम अगाडि बढाउन नसकिएको उहाँको गुनासो छ ।
सत्तीबाट धनगढीसम्मको सडक पनि चार खण्डमा ठेक्का लगाइएको थियो । चारै खण्डको ठेक्का पाएको स्वच्छन्द जोशी जेभीले पहिलो खण्डको काम सम्पन्न गरेर दोस्रो खण्डको पनि अन्तिम चरणमा पुर्याउँदा तेस्रो र चौथो चरणको कामको प्रगति ३० देखि ४० प्रतिशतमै सीमित छ ।
सो निर्माण कम्पनीले तेस्रो चरणको काम आगामी मङ्सिरमा र चौथो चरणको काम यहीँ असारभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । कम्पनीका प्रबन्धक गणेशदत्त जोशीका अनुसार चालु आवमा कामको भुक्तानी नै नपाएको गुनासो गर्नुभयो ।

२७ जेठ २०८१, आइतवार १४:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु