लकडाउन खुलेकै पछिल्लो दिन राजविराजमा बिहानैदेखि अनिश्चितकालिन निषेधाज्ञा
सप्तरी, साउन ८ । राजविराजमा आज बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।
सरकारले चार महिनादेखि लागू गरेको लकडाउन हिजोदेखि मात्रै खुलेको थियो ।
तर राजविराजमा हिजो एकैपटक १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले अनिश्चित कालाका लागि निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
राजविराजमा कोरोना संक्रमित भेटिन थालेपछि राजविराज नगरपालिकाले बुधबारदेखि नै लकडाउनमा कडाइ गर्ने निर्णय गरिसकेको छ ।
कोरोना संक्रमण भएर राजविराजमा गत बिहीबार एक वृद्वको मृत्यु भएको थियो । बुधबार मृत्यु भएका वृद्धका परिवारका ५ जनासहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रजिअ आचार्यका अनुसार अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवा तथा स्थलहरु अनावश्यक आवत जावत, हिंडडुल गर्न नदिने गरी निषेधाज्ञा लगाइएको छ ।
८ साउन २०७७, बिहीवार ०३:१९ बजे प्रकाशित































