बैतडीमा चितुवाको आक्रमणबाट घाइते भएकी किशोरीलाई धनगढी रेफर
बैतडीमा चितुवाको आक्रमणबाट घाइते भएकी किशोरीलाई धनगढी रेफर गरिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका वडा न ३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लोहारलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार पुजालाई बिहीवार मध्यान्ह साढे १२ बजेतिर घर नजिकै तालिगाडरोल बनमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको थियो ।चितुवाको आक्रमणबाट गम्भीर घाइते भएकी किशोरीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा सामान्य उपचार पछि डडेल्धुरा रेफर गरिएको थियो।
उनको टाउकोमा रगत जमेको र हड्डीमा पनि चोट पुगेकाले थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक खत्रीले बताए। अहिले उनको मायामेट्रो अस्पतालमा आईसियूमा राखेर उपचार भईरहेको छ। बिहीवार गाउँका चार/पाँच जनाको समूहमा घाँस काटिरहेकी पुजालाई चितुवाले आक्रमण गरेको थियो। चितुवाले पुजामाथि आक्रमण गर्दा संगै घाँस काटिरहेकाहरुले हो–हल्ला गर्दा चितुवा पुजालाई छाडेर भागेको हो। तल्लो स्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ । दिनदहाडै फेरी चितुवाले आक्रमण गर्न थालेपछि नागरिकहरु डराएका छन्।
२२ भदौ २०८०, शुक्रवार १२:४० बजे प्रकाशित































