ट्याक्टर दुर्घटनामा ज्यान गुमाउने सात जनाकै पहिचान खुल्यो
प्युठान, साउन ४ । प्युठानको स्वर्गद्वारीमा गएराति भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाउने सातैजनाको पहिचान खुलेको छ । ज्यान गुमाउने सबै रोल्पाको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार ट्याक्टर दुर्घटनामा रोल्पा रुम्टगढी गाउँपालिका– ५ का १९ वर्षीय थमन बाठामगर, १९ वर्षकै वीरेन्द्र बाठामगर, २४ वर्षीय रिमबहादुर बस्नेत, २१ वर्षीय सागर बस्नेत, २५ वर्षीय कविराम बस्नेतले ज्यान गुमाएका छन् ।
यस्तै ज्यान गुमाउनेमा रोल्पा रुम्टगढी गाउँपालिका– ५ का गोवर्द्धन बुढामगर र त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर छन् । कुवँर ट्याक्टर चालक रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।
ट्याक्टरमा आठ जना सवार भएपनि रोल्पाकै विशाल थापा भने हाम फालेर ज्यान जोगाउन सफल भएको पौडेलले बताए। उनीहरू सबै भिंगृ– स्वर्गद्वारी सडक निर्माणमा खटिएका मजदुरहरु हुन् ।
स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु२च ४२३४ नम्बरको ट्याक्टर गएराति स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो ।
४ साउन २०७७, आइतवार ०५:३३ बजे प्रकाशित































