नेपालीलाई कुटपिट गर्दै कपाल मुण्डन गर्ने दुईजना पक्राउ

काठमाडौं, साउन २ । भारतको बनारसमा एकजना नेपालीलाई कुटपिट गर्दै जबरजस्ती मुन्डन गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्‍व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका थिए।

यो घटनालाई लिएर कूटनीतिक माध्यमबाट नेपालले गम्भीर आपत्ति जनाएको थियो। भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा यसबारे आपत्ति जनाएपछि प्रहरी हर्कतमा आएको थियो।

त्यसक्रममा दुईजनालाई पक्राउ गरिएको वाराणसी प्रहरीका एसएसपी अमित पाठकले शुक्रबार जानकारी दिएका छन्। पाठकका अनुसार नेपालीको केस मुण्डन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजीमा संलग्‍न दुईजनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरुमा वाराणसीमा विश्‍व हिन्दु अभियानसँग जोडिएका दुई युवा सन्तोष पाण्डेय र अरुण पाठक रहेका छन्। उनीहरुमध्ये पाण्डेयले नेपालीमाथिको ज्यादतीका क्रममा भिडियो खिचेका थिए भने पाठकले फेसबुकमा अपलोड गरेका थिए। पाठक विश्‍व हिन्दु सेनामा कार्यरत रहेका खुलेको छ।

‘नेपालीमाथि भएको ज्यादतीको यस भिडियोलाई अरुण पाठकले आफ्नो फेसबुकमा सेयर गरेको भेटिएको छ। पक्राउ परेका सन्तोष पाण्डेयले खिचेको पुष्टि भएको छ। उनको मोबाइलबाट पनि त्यो भिडियो बरामद भएको छु,’ एसएसपी पाठकले भने, ‘नेपालीमाथि ज्यादतीमा संलग्‍नहरुविरुद्ध थाना भेलुपुरमा उजुरी दर्ता भइसकेको छ। पक्राउ परेकाबाट त्यस घटनामा संलग्‍न सबैको पहिचान भएको छ। हामी सबैलाई कडा कारवाही चलाउँछौं।’

एसएसपी पाठकका अनुसार स्थानीयस्तरमा हिन्दु धार्मिक संगठन चलाउने उनीहरुले त्यस भिडियोमा छिमेकी देश (नेपाल) का नेताविरुद्ध अमर्यादित टिप्पणी गरेको पाइएको पनि जानकारी दिए।

नेपालीमाथि ज्यादतीका क्रममा  उनीहरुले नेपालका प्रधानमन्त्रीविरुद्ध बोल्न लगाउँदै राम नेपालमा होइन भारतमा जन्मिएको हो भन्‍ने नारा पनि लगाउन लाएका थिए।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्‍ने अभिव्यक्ति दिएपछि भारतीय हिन्दूहरूले विरोध गर्दै आएका छन्।


२ साउन २०७७, शुक्रवार १७:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु