सुदूरपश्चिमका सबै जिल्लामा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना
धनगढी, साउन १ । कैलालीमा विहीबार भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ ।
एक कार्यक्रमकाबीच भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले केन्द्रको उद्घाटनगरिन् । योसंगै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना गरिएका छन्।
प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार ९ वटै जिल्लामा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानको सहजताका लागि सबै जिल्लामा विज्ञ केन्द्र र ज्ञान केन्द्र स्थापना गर्दै सेवा सञ्चालनमा ल्याईएको जनाएको छ।
यसअघि कञ्चनपुर, डडेल्धुरा, बैतडी, बाजुरा र बझाङ गरी प्रदेशका पाँच जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएका थिए। कञ्चनपुर, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम र बझाङमा कृषि ज्ञान केन्द्रहरु स्थापना भएका थिए भने आजबाट कैलाली, डोटी र दार्चुलामा केन्द्र स्थापना गरिएको मन्त्रालयले जनाएको छ।
१ साउन २०७७, बिहीवार ०६:२१ बजे प्रकाशित













