डडेलधुरामा हैजा : उपचारमा ढिलाइ हुँदा झाडापखाला लागेकी एक बालिकाको ज्यान गयो
डडेलधुरामा हैजा देखिएको छ । डडेलधुराको परशुराम नगरपालिकामा हैजा भेटिएको हो।
परशुराम नगरपालिकामा झाडापखाला फैलिए पछि गरिएको नमुना परीक्षणमा एक जना बिरामीलाई हैजा भएको देखिएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए। उनका अनुसार गएको वैशाखको अन्तिम हप्ता त्यहाँ झाडापखाला फैलिएको थियो ।
एक सय ५० जनाभन्दा धेरै बिरामी परेका थिए । झाडापखालाका कारण १४ वर्षकी सङ्गीता धामीको ज्यान समेत गएको थियो । उपचारमा ढिलाइ गर्दा बालिकाको ज्यान गएको हो । शरीरमा पानीको मात्रा निकै कम भएकाले बालिकाको ज्यान गएको डाक्टरले बताएका छन् । अहिले भने झाडापखाला नियन्त्रणमा आएको छ । तर, हैजासमेत देखिएकाले जोखिम उस्तै छ । प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाको स्वास्थ्य इकाईको टोली निगरानीमा खटिएका छन् ।
टोलीले केही दिन त्यहीँ बसेर काम गर्ने प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए। दूषित पानीका कारण परशुराम नगरपालिकामा झाडापखाला फैलिएको पाइएको छ । झाडापखाला फैलिएपछि स्थानीय बासिन्दाले पिउने पानीको नमुना परीक्षण गरिएको थियो ।
नमुना परीक्षणमा पानीको स्रोत नै दूषित रहेको पाइएको न्यौपानेले जानकारी दिए । उनका अनुसार अहिले पानीलाई शुद्धीकरण गर्ने विभिन्न उपाय अपनाइएको छ । पानी उमालेर मात्र पिउन आग्रह गरिएको छ भने पानी शुद्धीकरण गर्न घर घरमा पीयूषलगायत औषधि वितरण गरिएको पनि उनले जानकारी दिए ।
गर्मीमौसममा झाडापखाला, हैजा जस्ता रोग फैलिने सम्भावना धेरै हुने भएकाले खानपान र सरसफाइमा ध्यान दिन विज्ञले सुझाव दिँदै आएका छन् ।
४ जेठ २०८०, बिहीवार ०८:५८ बजे प्रकाशित































