Churya gapa
Churya gaupalika
Churya

अत्तरियामा फेरि ठडिन थाले वनले भत्काएका घर, टहरा

कैलाली।  कैलालीको अत्तरियामा वन अतिक्रमण हटाउने भन्दै ४० दिन अघि डिभिजन वन कार्यालयले हटाएका घर, टहरा पुनः ठडिन थालेका छन् । डिभिजन वन कार्यालय धनगढी, सब डिभिजन वन कार्यालय अत्तरियाका वनका कर्मचारीले जेठ १४ गते डोजर लगाएर हटाएका संरचना पुनः निर्माण गर्न थालेका हुन । वन कार्यालयले सो दिन स्याउलेमा रहेका संरचना सँगै अत्तरियाको पूर्व रोडमा रहेका संरचना डोजर लगाएर हटाएको थियो । सोही क्रममा अत्तरियामा व्यवसायीक प्रयोजनका लागि निर्माण गरिएका घर, टहरा वन कार्यालयले हटाएको भए पनि पुनः सोही प्रयोजनका लागि निर्माण गर्न थालिएका हुन ।

सो क्षेत्रमा अहिले मात्रै नभएर यसअघि पनि अतिक्रमण हटाएको केही समयमै पुनः अतिक्रमण गरी घर टहरा निर्माण गरिँदै आएको थियो । यसअघि २०७५ वैशाख १६ गते पनि सो क्षेत्रमा गोदावरी नगरपालिकाले अतिक्रमण गरेर सडक किनारामा निर्माण गरेका संरचना भत्काएको थियो । भत्काएको केही समयमै ठडिएका संरचना पुनः २०७८ पुस १२ गते सुरक्षा सामुदायिक वनले वन कार्यालयको सहयोगमा भत्काएको थियो । त्यसपछि पनि पुन ठडिएका घर टहरामा २०८३ जेठ १४ गते वन कार्यालयले डोजर चलाएको भए पनि पुनः घर टहरा निर्माण सुरु भएकाले पुरानै अवस्था फर्किने जोखिम बढेको छ ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख राम विचारी ठाकुरले भने पुनः अतिक्रमण भइरहेको बारेमा अनविज्ञता प्रकट गरे । उनले हाललाई अतिक्रमण हटाउने अभियान रोकिएको भएपछि अतिक्रमण हटाएको ठाउँमा पुनः नयाँ संरचना बनिरहेको भएमा रोकिने बताए ।

राजमार्ग कै छेउमा खुल्लमखुल्ला भइरहेको अतिक्रमण हुँदा पनि बेवास्ता गर्ने सरोकारवालाले अतिक्रमण गरेर वर्षौँ उपभोग गरेपछि मात्रै भत्काउने गरेका छन् । जसले गर्दा अतिक्रमण हटाउन पनि राज्यको ठुलो धनजनको खर्च हुने गरेको छ ।

यस वर्ष वन कार्यालयले कैलालीका स्याउले, अत्तरिया सँगै गोदावरी वन क्षेत्रमा अतिक्रमण हटाएको थियो । जेठ २९ गते गोदावरीका सडक किनारामा अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट फालिएको घटनाले अतिक्रमण हटाउने शैलीको चर्को आलोचना भएपछि अतिक्रमण हटाउने अभियान नै रोकिएको थियो । उक्त घटनापछि सब डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा सहित १० जनालाई पक्राउ गरेर उनीहरू विरुद्ध मुद्दा नै दर्ता भएको थियो । त्यसपछि वनका कर्मचारीहरूले नै अटो सडक किनारामा सञ्चालन गर्दै आएकी धना देवी धामीलाई ५ लाख क्षतिपूर्ति दिएपछि वनका कर्मचारी पनि छुटेका थिए ।

अतिक्रमण हटाउन खटिएका वनका कर्मचारी नै पक्राउ परेर क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आएपछि अतिक्रमण गर्नेको मनोबल बढेको पनि विश्लेषण गर्न थालिएको छ । जसकै परिणाम अतिक्रमण हटाएको एक महिनामै पुनः अतिक्रमण हुन थालेको सरोकारवालाको बुझाई छ ।

यद्यपि वनका कर्मचारीले आर्थिक वर्षको अन्त्यमा बजेट सक्नकै लागि साना घर टहरा मात्रै हटाउने गरेको भन्दै आलोचना पनि हुने गरेको छ । सोही आलोचनालाई मलजल पुग्ने गरी यस पटक पनि वन कार्यालयले यस क्षेत्रमा वनमै निर्माण गरेका पक्की संरचना हटाउन बेवास्ता गरेर कच्ची खोका छाप्रा, टहरा मात्रै भत्काएको थियो ।


२४ असार २०८३, बुधवार ११:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु