सबै कम्युनिस्टलाई एमालेमा गोलबद्ध गराउने प्रयास
कैलाली । नेकपा एमाले डडेल्धुरा कमिटीले सबै कम्युनिस्ट पार्टी र विचार भएकाहरूलाई एमाले पार्टी भित्र गोलबद्ध हुन आह्वान गरेको छ ।
जिल्ला संयोजक गजेन्द्र शाहीले एक विज्ञप्ति जारी गर्दै प्रगतिशील बाम शक्तिहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन् । वैशाख २३ मा सम्पन्न जिल्ला संगठन कमिटीको निर्णय अनुसार संयोजक शाहीले यस्तो आह्वान गरेका हुन् ।
‘ प्रगतिशील बाम शक्तिहरू टुट फुट र विभाजनबाट होइन एकता तथा सहकार्यको माध्यमबाट मात्रै राष्ट्र, राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, आर्थिक समृद्धि, सामाजिक न्याय र आम नेपाली जनताको परिवर्तनको चाहाना पुरा हुन सक्छ’ विज्ञप्तिमा भनिएको छ ‘डडेल्धुरा जिल्लामा बिगतका अनुभव र घटनाक्रमबाट शिक्षा लिँदै आगामी चुनौतीसँग सामना गर्न एकताबद्ध र बलियो कम्युनिस्ट पार्टी निर्माणको लागि सहमति पहिल्याउन यस बैठकले आवश्यक संवाद अगाडी बढाउन पहल कलमी गर्ने निर्णय गरेको छ । ’
उनले तत्कालीन नेकपाकै निरन्तरताको रुपमा रहेको भन्दै नेकपा एमालेमा गोलबद्ध हुन अपिल गरेका हुन् । २३ गते डडेल्धुरामा जिल्ला संयोजक शाही र केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहराको प्रमुख आथित्यतामा पहिलो बैठक बसेको थियो ।
चैत्र १९ गते चार आरोप लगाउँदै एमाले प्रदेश कमिटीले डडेल्धुरा अध्यक्ष प्रकाश साउदलाई स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणको जवाफ नदिएपछि सोही कमिटीका सचिव शाहीलाई संयोजकको जिम्मेवारी दिँदै डडेल्धुरा कमिटी विघटन गरिएको थियो ।
शाही नेतृत्वको कमिटीलाई असार मसान्त भित्र अधिवेशन गर्न भनिएको छ । एमालेको नयाँ कमिटीमा सबै कम्युनिस्टलाई समावेश गर्ने गरि एकै ठाउँमा गोलबद्ध हुन अपिल गरिएको हो ।
२५ वैशाख २०८०, सोमवार १४:३७ बजे प्रकाशित






























