punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो

Chaupati
safha napa

मंगलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरू घर फर्किँदै थिए । बझाङको एकै गाउँका ६ जना बाटोमै अस्ताए । परिवारका साथ बिसु पर्व मनाउने उनीहरूको सपना बाटोमै बिलायो ।

जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ को झौलेक मोडमा से.१ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका– ५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको ज्यान गयो ।

भारतसितको सीमानाका झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको उक्त जिपमा सवार सोही गाउँका अन्य ६ जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । ‘क्षमताभन्दा बढी यात्रु सवार थिए, उकालोमा जिप चढ्न सकेन, ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ,’ उनले भने ।

भारतको पिथौरागढमा मजदुरी गर्दैआएका एकै गाउँका उनीहरू मंगलबार घर फर्किन झुलाघाट पुगेका थिए । झुलाघाटबाट बझाङस्थित गाउँ पुग्न दुई–तीनवटा गाडी फेरबदल गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाटै जिप रिजर्भ गरेर मगाएका थिए । १२ जनामध्ये ६ जनाको बिसु मनाउने सपना झौलेक भिरमै बिलायो ।

सोही जिपमा सवार जयसिंह बोहराका अनुसार उनीसहित पाँचजना जिपको पछिल्लो भागमा बसेकाले हाम फालेर बाँच्न सफल भए । ‘सडक उकालो थियो, जिप ब्याक भएर भिरबाट खस्यो,’ उनले भने, ‘जिप पछाडि पछाडि फर्किन थाल्यो, पछाडि सवार सबैले हाम फाल्यौँ, जिप सोझै भिरमा खस्यो ।’

गत मंसिरमा सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा उनीहरूले गाउँमा भोट खसाले । त्यसपछि रोजगारीका लागि भारतको पिथौरागढ जाने सल्लाह भयो । निर्वाचनको अर्को दिन सबैजना घरबाट हिँडेको जयसिंहले बताए । उनले भने, ‘बिसु पर्व मनाउन सबै सल्लाह गरेर घर फर्किँदै थियौँ, एकसाथ नयाँ वर्ष मनाउनै पाइएन ।’

राति ११ बजे उनीहरूले खोडपे बजारमा खाना खाएका थिए । खाना खाएर अगाडि बढेको केही समयमै जिप मध्यरातमा झौलेक भिरमा दुर्घटनामा पर्‍यो । ‘खाना खाएपछि खोडपेमै आराम गर्न चालकलाई आग्रह गरेका थियौँ, चालकले बागथला पुगेर आराम गरौँला भन्यो,’ जयसिंहले भने, ‘राति यतै आराम गरौँ, नयाँ वर्ष आउन एक दिन बाँकी छ, बरु बिहान झिसमिसेमै जाउँला भन्दा चालकले मानेनन् ।’

दुर्घटनामा एकै गाउँका ६ जनाको ज्यान गएपछि बझाङको बाँझगाउँ शोकमा डुबेको छ । पर्वको मुखमै भएको दुःखद घटनाले बिसु खल्लो बनाएको केदारस्युँ गाउँपालिका– ५ का वडाध्यक्ष मोहनसिंह ठगुन्नाले बताए । सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ । यतिवेला घर बाहिर हुनेहरू पर्व मनाउन फर्किन्छन् । जिप सडकबाट पाँच सय मिटर तल खसेको छ । जिपचालक मृतककै गाउँका २७ वर्षीय अर्जुन बोहरा फरार छन् । दुर्घटनालगत्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थलमा पुगेको छ । शव भिरबाट निकाल्ने काम भइरहेको छ ।


२९ चैत २०७९, बुधवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु