punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

झारफुकको भरपर्दा कैलालीमा गर्भवतीसँगै शिशुको पनि ज्यान गयो

Chaupati
safha napa

नौ महिनाकी गर्भवती कल्पना विक २ फागुन राति एक्कासी गम्भीर बिरामी भइन् । बोल्न नसक्ने, मुखबाट र्याल फाल्ने तथा जिब्रो मुखबाट बाहिर निकालेर टाउको हल्लाउनेजस्ता अस्वभाविक व्यवहार देखाउन थालेपछि आत्तिएका परिवारका सदस्यले उनलाई ‘भूतप्रेत लागेको’ ठाने । टोलछिमेकीको पनि त्यही बुझाइ रहेपछि घरपरिवार र टोलछिमेका आफन्तको सल्लाहमा राति नै ‘धामी’ बोलाइयो ।

कल्पनाका ससुरा प्रेम विकले छिमेकी गाउँ हरैयाबाट चिनेजानेका धामीलाई घरमा बोलाए । गोदावरी नगरपालिका– ८ स्याउलेस्थित उनको घरमा राति धामी देउता बसे । कल्पनाको स्वास्थ्यमा सुधार भएन ।

परिवारले दोस्रो दिन अटोरिक्सामा राखेर छिमेकी बस्ती खुटिया अर्को धामीकहाँ लगे । दुई दिनसम्म धामीझाक्री गराउँदा निको भएन । रोग बल्झिदै गयो ।

दुई÷दुई धामीकहाँ लगेर पनि सुधार नभएपछि बुहारीलाई रिक्सामा राखेरै धनगढीको सेती प्रादेशिक अस्पताल पुर्याएको प्रेमले बताए । ‘अस्पताल लगेर पनि बुहारीलाई बचाउन सकेनौँ,’ उनले भने, ‘एक्कासी बिरामी भएकी बुहारी त्यसपछि बोल्नै सकिनन् ।’

आफन्तका अनुसार अस्पताल लैजाँदासम्म कल्पनाको स्वासमात्र बाँकी थियो । तत्कालै आइसियुमा राखेर उपचार सुरु गरिए पनि स्वास्थ्यमा कुनै सुधार भएन । आइसियुमा राखेको १७ दिनपछि ९२० फागुन० मा उनको मृत्यु भयो ।

प्रेमलाई अहिले त्यसै राति अस्पताल लगेको भए बुहारीलाई बचाउन सकिन्थ्यो की भन्ने लागेको छ । उनका अनुसार त्यसदिन बेलुकीसम्म कल्पना राम्रै थिइन् । पल्टिने वेला वान्ता गरेकी उनी त्यसपछि एकाएक बोल्न नसक्ने भइन् ।

‘अस्वभाविक व्यवहार देखाएकाले भूत लागेको होला भन्ने सोच्यौँ । टोलछिमेकमा पनि सबैले भूतै लागेको हो भनेपछि झाँक्रीको खोजीमा लाग्यौँ,’ उनले भने, ‘अस्पताल लैजानुपर्छ भन्ने चेत भएन, त्यही दिन राति सीधै अस्पताल लगेको भए बुहारी बाँच्थिन् की जस्तो पनि लाग्छ ।’ तर अब लागेर के गर्नु ?’ उनको घरबाट सेती अस्पताल करिब १२ किलोमिटरको दुरीमा छ ।

बिरामी भएको दोस्रो दिन खुटियामा धामीकहाँ लैजानुअघि बुहारीलाई हरैयाको एक मेडिकलमा पनि लगेको उनले बताए । मेडिकलले पनि धामीकहाँ लैजान भनेको प्रेमको दावी छ ।

उपचारमा संलग्न चिकित्सक समयमै अस्पताल ल्याएको भए उनलाई बचाउन सकिने सम्भावना रहेको बताउँछन् । उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालमा कार्यरत डा। खगेन्द्र भट्टका अनुसार अस्पताल पुर्याउँदासम्म कल्पनाको लिभर, फोक्सोलगायत अंगले काम गर्न छोडेका थिए ।

‘शरीरभरि ब्याक्टेरिया भाइसर फैलिसकेको थियो । शरीरका अधिकांश भागले काम गर्न छाडेका थिए,’ डा। भट्टले भने, ‘ज्वरो र उच्च रक्तचाप थियो ।’

अस्पताल पुर्याउँदासम्म पेटको बच्चा मरिसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । समयमै अस्पताल ल्याएको भए कल्पनालाई बचाउन सकिने संभावना रहेको डा। भट्ट बताउँछन् ।

उनका श्रीमान् राजेश रोजगारीको शिलशिलामा भारतमा थिए । श्रीमती बिरामी भएको खबर पाएपछि गत ७ फागुुुनमा घर पुगेका थिए । गत वैशाखमा मात्र विवाह भएको थियो ।

अस्पतालले सुरुमा निको हुने भने पनि मृत्यु हुनु केही समयअघि मात्र अन्यत्र लैजान भनेको उनले बताए । ‘अन्यत्र लगेर निको हुने भए अस्पतालले समयमै भनिदिनु पथ्र्यो,’ उनले गुनासो गरे ।

लामो समय आइसियुमा राखेर उपचार गर्दा तीन लाख रुपैयाँ खर्च भएको राजेशले बताए । उपचार खर्च तिर्नका लागि २५ हजार रुपैयाँ गाउँबाट चन्दा उठेको र बाँकी रकम ऋण लिएर तिरेको उनले बताए ।


११ चैत २०७९, शनिवार ०८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु