अज्ञात समूहको आक्रमणमा परी गम्भीर घाइते भएका पत्रकार चौधरीको अवस्था जटिल, थप उपचारका लागि काठमाडौँ लगियो
अज्ञात समूहको आक्रमणमा परी गम्भीर घाइते भएका महोत्तरीका पत्रकार नवीन चौधरीको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
सांघातिक आक्रमणमा परी गम्भीर घाइते भएका उनको जनकपुरधामस्थित जानकी हेल्थ केयरको आकस्मिक कक्षमा प्रारम्भिक उपचार गरिएको थियो । उनलाई यती एयरलाईन्सको विमानबाट काठमाडौं लगिएको नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका सहसचिव रामनारायण महतोले जानकारी दिए ।
बुधबार अपराह्न होलीको समाचार संकलनका लागि जलेश्वर नगरपालिका–५ चौरीया पुगेका पत्रकार चौधरीमाथि आक्रमण भएको थियो । अज्ञात समूहको बियरको बोतल प्रहारबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै जनकपुरधामस्थित जानकी हेल्थ केयरमा ल्याइएको थियो ।
यता पत्रकारसम्बद्ध संघसंस्थाहरुले उक्त घटनाको निन्दा गरेका छन् । नेपाल पत्रकार महासंघ महोत्तरी शाखा, नेपाल प्रेस युनियन महोत्तरी लगायतका संघसंस्थाहरुले समाचार संकलनमा खटिएका चौधरीलाई अज्ञात समूहले नियन्त्रणमा लिई निर्घात कुटपिट र बियरका बोतलले टाउकोमा प्रहार गरी मरणासन्न अवस्थामा पु¥याएको भन्दै घटनाको घोर भर्त्सना गरेका छन् ।
उनीहरुले घटनामा संलग्न समूहलाई यथाशीघ्र पक्राउ गरी हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
२५ फागुन २०७९, बिहीवार २१:२६ बजे प्रकाशित































